गौर बैशाख १३ रौतहट ।
रौतहटको विभिन्न क्वारेन्टाइनमा १ सय २१ जना भारतीय नागरिक रहेका छन् । देशको राजधानी काठमाडौँबाट सीमावर्ती भारतको बिहार राज्यको सीतामढी र पूर्वी चम्पारण जिल्लास्थित आफ्नो घर जान लागेकाहरु क्वारेन्टाइनमा पुगेका हुन् । नेपाल र भारत दुवै तर्फबाट सिमानाका सिल गरिएका छन् । सीमानाका सिल भएपछि भारततर्फबाट नेपाल छिर्न खोज्नेलाई भारततिरैको क्वारेन्टाइनमा र नेपालतर्फबाट भारत जान खोज्नेलाई नेपालकै क्वारेन्टाइनमा राख्नुपर्ने सहमति भएको थियो । सोही सहमति अनुसार काठमाडौँबाट लकडाउन र बोर्डर सिलको अवधिमा भारत जान खोज्नेहरुलाई रौतहटको विभिन्न क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले जानकारी गराएका छन् । भारतस्थित घर जान लागेकाहरुलाई रौतहटको राजदेवी, मौलापुर, यमुनामाई, ईशनाथको औरैया, राजपुर तथा गरुडाको क्वारेन्टाइनमा भारतीयहरु रहेको एसपि खड्काले बताएका छन् । सबैभन्दा बढी राजदेवी नगरपालिकाको क्वारेन्टाइनमा ४८ भारतीय रहेका छन् ।