रौतहट,३१ बैशाख । कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले मन्त्री र नेताहरुले सुरक्षागार्ड लिएर हिँडेकोमा आक्रोश पोखेका छन् । नेताहरू जनताबाट चुनिएर आएर जनतासँगै डराएको भन्दै उनले आक्रोश पोखे । उनले भने, ‘एक–दुईजना भिआइपीले सुरक्षा लिए भइहाल्यो नि । अरूलाई किन चाहियो सुरक्षा ? सर्वहाराको नेतालाई त सुरक्षा नै नचाहिने हो । जनताबाट जितेर आउनेलाई केको सुरक्षा ? हामी विनासुरक्षा हिँडिरहेका छौँ त । जनताले मार्छन् भनेर अघिपछि सुरक्षाकर्मी किन चाहियो ?’
नेताहरूले जनतालाई मालिक र आफूलाई नोकर सम्झेर हिँड्नुपर्ने बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले विनासुरक्षा हिम्मतसाथ हिँड्न पनि चुनौती दिए । अहिलेको प्राथमिक विषय स्वास्थ्य क्षेत्र भएकाले यसलाई प्राथमिकतामा राख्न पनि उनको सुझाब थियो । सबै मन्त्रीले राम्रो काम गरेर पिछडिएका क्षेत्रलाई उकास्न पनि सुझाए । उनले भने, ‘बामे सरेको बालकलाई समाएर हिँडाएजस्तै पछाडि परेको प्रदेशलाई पनि अगाडि बढाउनुपर्छ । पूर्वाग्रह भएर बजेट दिने होइन ।’
राहत वितरणमा भ्रष्टाचार भएको भन्दै उनले विपन्न परिवारलाई बैंकमार्फत पैसा हालिदिन पनि आग्रह गरे । उनले भने, ‘त्यसो भएपछि भ्रष्टाचार हुँदैन । पैसा पुगेन भने बैंक खातामा थपिदिने । अहिले त कुहिएको चामल बाँडेको छ । भ्रष्टाचार भएको छ ।’