काठमाण्डौं,२२ जेठ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गर्नुभएको छ ।
आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गर्दै चुक्ता नगरेमा जरिवाना लाग्ने उसले बताएको थियो । यसको व्यवसायीहरूले विरोध गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाउनुभएको छ । करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने भन्दै उहाँले भन्नुभएको छ, सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहंदैन ।
अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने वा गर्न सरकार गम्भीर नभएको तथा पीसीआर परीक्षण गरेर साना–ठूला व्यवसाय क्रमशः सञ्चालन गर्ने कार्ययोजना नबनाएको भन्दै उहांले सरकारको आलोचना गर्नुभएको छ । सभापति देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याङ्कन गर्न र जेठ २५ भित्र कर तिर्न गरिएको ताकेता फिर्ता गर्न समेत सरकारसंग माग गर्नुभएको छ ।