गौर,५ साउन / गौर नगरपालिका–४ टिकुलियास्थित लालबकैया नदीमा बन्दै गरेको पुल ठेकदारले समयमा नबनाएका कारण सो भेगका बासिन्दा बर्षामा डुंगा र हिउदमा बांसको पुलबाट आवत जावत गर्न बाध्य भएकाछन् ।
सो स्थानमा दुई वर्षअघि डुंगा दुर्घटना हुदा पांच जनाले ज्यान गुमाएका थिय । बाढीले उर्लिएको नदीमा अटाई–नअटाई यात्रु बोकेको डुंगा निर्माणाधीन पुलको पिलरमा ठोक्किएर पल्टिएको थियो । तर, पुल अझै बनेको छैन । यात्रु अहिले पनि उसै गरी डुंगामा जोखिम मोल्न बाध्य छन् ।
सरकारी लगानीमा २०७१ सालमा पुल शिल्यान्यास भएको थियो । ठेक्का लिएको थियो पप्पु कन्स्ट्रक्सनले । दुई वर्षभित्र पुल बन्ने खबरले स्थानीय खुसी थिए । तर ठेकेदारको लापरबाहीले कामै हुन सकेन । अब पनि पुल कहिले बन्छ, भन्न सकिँदैन ।
टिकुलियाका अधिकांश बासिन्दाको खेत नदीपारि बन्जाराहा क्षेत्रमा पर्छ । पारि ईशनाथ नगरपालिका पर्छ । त्यहाँका मानिस यही बाटो भएर सदरमुकाम गौर आउनुपर्छ । उनीहरू मोटरसाइकल, साइकल पनि डुंगामा राखेर वारपार गर्छन् । डुंगाको क्षमता १८÷२० जना भए थेग्नै नसकिने गरी मानिसहरू चढ्छन् । एउटा मात्र डुंगा भएको र त्यो पनि साझ परेपछि नचल्ने भएकाले यसरी भिड लाग्नु उनीहरूको बाध्यता बन्छ ।
हिउदमा ग्राभेल राखेर डाइभर्सन बनाए पनि वर्षातमा डुंगा चढ्नुको विकल्प छैन । समयमा पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, बैरिया, अकोलवा, रामपुर खापसहित दर्जनौं गाउंका बासिन्दालाई सदरमुकाम गौर आउन मुस्किल पर्छ । टिकुलियाका सुरज साह बन्जाराहा गाउ जाने बेला डराई–डराई डुंगा चढ्छन् ।
चालकलाई होसियारी अपनाउन भनिरहन्छन् । उनको खेत पारि छ । दुई वर्षअघिको दुर्घटनामा उनका आफन्तको ज्यान गएको थियो । पुल बन्ला र आनन्दले वारपार गर्न पाइन्छ भन्ने लागेको थियो, उनले भने, ठेकेदारका कारण गाउलेले दुःख पाउने भए । वडाध्यक्ष भुवनेश्वर शाहीले मानिसहरू डुंगामा त्रासपूर्वक आउजाउ गर्ने गरेको बताउछन् ।ठेकेदारले चार वर्षको अवधिमा पुलको काम ६५ प्रतिशत मात्र सकेको छ । तत्कालीन ंसडक डिभिजन कार्यालय हेटौंडाले २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने गरी २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको पक्की पुल बनाउन ठेक्का आह्वान गरेको थियो ।२०७१ असार २९ मा लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकारेर तीन वर्षभित्र पुल बनाउने सम्झौता पप्पु कन्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले गरेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ कातिक २९ गते पुल शिलान्यास गरेका थिए । सम्झौताअनुसार २०७४ माघ २९ मा पुल बनिसक्नुपर्थ्यो । ठेकेदार रौनियारले निर्माण सामग्री अभाव, बन्द, हड्ताल, भूकम्पजस्ता कारणले ढिलाइ भएको दाबी गर्दै आएका छन् ।