जनकपुरधाम,१ भदौ । कोरोनाको महामारीबीच नेकपामा किचलो चलिरहँदा प्रदेश २ मा मुख्यमन्त्री र मन्त्री मण्डलमा नयाँ अनुहार ल्याउने कि पुरानै राख्ने भन्ने बारेमा यतिखेर बहस सुरु भएको हो ।
जेठको पहिलो साता राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकीकरण भएको थियो। त्यस पश्चात गठन भएको जनता समाजवादी पार्टी (जसपा) को प्रदेश सभाको संसदीय दलको नेता चुन्न यतिखेर लबिङ भइरहेको छ । पार्टी संसदीय दलका नेता जो बन्छ उ नै मुख्यमन्त्री बन्ने छन् । प्रदेश २ मा जसपासँग सरकार गठन गर्ने बहुमत छ । तत्कालीन राजपा र संघीय समाजवादी पार्टी मिलेर प्रदेश २ मा सरकारको नेतृत्व गरेका थिए । नेपालको संविधान २०७२ को धारा १८९ अनुसार संसदीय दलको नेता छनोट गरिनु पर्ने व्यवस्था छ । संसदीय दलको नेता मात्र मुख्यमन्त्री बन्ने प्रावधान छ । पार्टी एकीकरण पश्चात एउटै दलको नेता चुन्नु पर्ने बाध्यता पार्टीसँग छ । चार दिन पहिले पार्टीका १४ प्रदेशसभा सदस्यले मुख्यमन्त्री राउतको सरकार पूर्णरुपमा असफल भएको भन्दै पार्टी अध्यक्ष तथा वरिष्ठ नेतालाई भेटेर राउतको टिमलाई फिर्ता बोलाई नया अनुहारकालाई सरकारको नेतृत्वमा लानु पर्ने माग राखेपछि मुख्यमन्त्रीका लागि दलको नेता बन्न नेताहरुको दौडधुप शुरु भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई, डा. बाबुराम भट्टराईलाई भेट्नेको भीड बढेको छ । पार्टी एकीकरणपछि प्रदेश २ को मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्न हालका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल, आर्थिक विकास योजनामन्त्री विजयकुमार यादव, कृषि राज्य मन्त्री योगेन्द्र यादव, मनिष सुमन, उपेन्द्र महतो लगाएतको नाम चर्चामा छ ।