चन्द्रपुर,२४ भदौ / रौतहटमा समुदाय स्तरमा कोरोना संक्रमित देखिएसगै संस्थागत आइसोलेशनमा बस्नेहरुभन्दा होम आइसोलेनमा बस्नेहरु बढेका छन् । नेपाल सरकारले निश्चित मापदण्ड पूरा गरेपछि कोरोना संक्रमितलाई होम आइसोलेशनमै बस्न दिने प्रावधान ल्याएसंगै जिल्लामा पनि होम आइसोलेशनमा बस्नेहरुको संख्या बढेको हो ।
जिल्लाका विभिन्न पालिकाहरुमा हाल ३ सय ९९ आइसोलेशन बेडहरु भएतापनि अधिकासं कोरोना संक्रमितहरु घरमै बसिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सोमबारसम्म जिल्लाको देवाही गोनाही नगरपालिकाको जस किसान पोलीटेक्निक इन्टिच्युटमा १२ जना, कटहरिया नगरपालिकाको आइसोलेशनमा ५ जना, परोहा नगरपालिकाको आइसोलेशनमा ३ जना, फतुवा विजयपुरको क्वारेन्टाइनमा ७ जना र चन्द्रपुर नगरपालिकाको अस्थायी कोरोना अस्पतालमा ४ जना संक्रमित रहेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङ्क अनुसार सोमबारसम्म जिल्लामा १ सय ३६ सक्रिय संक्रमितहरु रहेका छन् ।
जसमध्ये ३१ जनामात्र संस्थागत आइसोलेशनमा रहेका छन् । जस किसान पोलीटेक्निक इन्टिच्युटमा गौर अस्पतालले संचालन गर्ने गरि ३ सय बेड क्षमताको आइसोलेशन निर्माण गरिएको थियो । तर सो आइसोलेशनमा जम्मा १२ जनामात्र रहेका छन् । संस्थागतभन्दा होम आइसोलेशनमा बस्दा राम्रोसंग स्याहार सुसार, खानपीनको व्यवस्था हुने भएका आफु होम आइसोलेशनमै बसेको एक संक्रमितले बताए । वृन्दावन नगरपालिकाका नगरप्रमुख रामस्नेही यादवले आफूहरुले कोही संक्रमित घरमै बस्न चाहेमा उनको घरको अनुगमन गरेर मापदण्ड पूरा भएमा बस्न अनुमति दिने गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोहीँ संक्रमित होम आइसोलेशनमा बस्न चाहेमा सम्बन्धित वडाको वडाअध्यक्ष , पालिकाको स्वास्थ्य संयोजक र नजिकको प्रहरी कार्यालयको प्रतिनिधी गएर संक्रमितको घरमा तोकिएको मापदण्ड पूरा गर्न सकिने नसकिने अनुगमन गरेपश्चात होम आइसोलेसनमा बस्न अनुमति दिने गरेको जनाउदै जिल्लामा संस्थागत आइसोलेसनमा बस्न चाँहेपनि पर्याप्त बेड र सुविधाको व्यवस्था गरिएको बताए । छ ।
जिल्लामा हालसम्म १ हजार ६७१ जनामा संक्रमण पुष्टि भइसकेकोमा १ हजार ५३५ जना निको भएर घर फर्किसकेका छन् ।