चन्द्रपुर,१५ पुस ।
पछिल्लो समयमा बढदो आर्थिक मन्दीका कारण रौतहट जिल्लाका बिभिन्न स्थानमा यौन व्यावसाय गर्नेहरु समेत मारमा पर्न थालेको गुनासो गर्न थालेका छन् । बढदो सहरी करणसंगै रौतहटका ठुला बजारमा हुने यौन व्यावसाय समेत सुक्न थालेको उनीहरुको भनाई रहेको छ ।
चन्द्रनिगाहपुरमा डेरा जमाएर राजमार्गका बिभिन्न बजारमा यौन व्यापार गर्दै आएका महिला तथा युवतीहरु पछिल्लो समय आएर राजमार्ग केन्द्रीत भएका छन् । चन्द्रनिगाहपुरमा होटलमा यौन व्यापार गर्दै आएका महिला तथा युवतीहरु पछिल्लो समय ग्राहक खोज्नका लागि राजमार्गको जंगल क्षेत्रमा पुग्ने गरेका छन् । होटलमा भाडा महंगो हुने गरेकाले ग्राहकले धेरै पैसा तिर्न नसक्ने भएकाले आफुले जंगलको छेउको बाटोमा बसेर बाटो हिडनेसंग सस्तोमै यौन सम्पर्क गरेर गुजारा चलाउने गरेको एक यौन व्यावसायी महिलाले बताईन ।
सव वन डिभिजन कार्यालय धन्सारको छेउको जंगलसहिया जाने बाटोमा फेला परेकी अन्दाजी ४० बर्षकी महिलाले होटलमा ग्राहकले पैसा धेरै लिने गरेका कारण जान नमान्ने र आफुहरुले यतै जंगल तिर ल्याउने गरेको बताईन् ।
नेपालको सिमावर्ती जिल्लामा २० हजार भन्दा बढी महिला यौनकर्मी रहेको तथ्य बाहिर आएको छ । ग्लोबल फन्डले हालै गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेभियरल सर्भिलेन्स) सर्वेक्षणले उक्त तथ्य बाहिर ल्याएको हो ।
यौन व्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गईरहेको अध्ययनले देखाएको छ । नेपालको सिमावर्ती २० जिल्लामा २० हजार ५ सय ९३ महिला यौनव्यवसायी रहेको उक्त तथ्यले देखाएको छ । उक्त सर्वेक्षणले अधिकांस महिला यौनव्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो ।
सर्वेक्षण राजमार्ग लगायत सिमावर्ती जिल्लामा यौनव्यवसायमा संलग्न रहेका यौनकर्मी महिलामा गरिएको थियो ।
यौन व्यवसायमा संलग्नमध्ये ३८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो सर्वेक्षणले दाबी गरेको छ । ६५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको समेत सर्वेक्षणले दाबी गरेको छ । यौनव्यवसायमा संलग्न महिलाको शैक्षिकस्तर निकै कम भएको सर्वेक्षणले देखाएको छ ।
्उनीहरूमध्ये करिब ५२ प्रतिशत निरक्षर छन् ।
निरक्षर यौन व्यवसायी महिलाले शिक्षाका लागि जीवनमा एकपटक पनि विद्यालयमा पाईला नटेकेको समेत सर्वेक्षणले देखाएको छ । ६ प्रतिशतले मात्र एसएलसी र त्योभन्दा बढी अध्ययन गरेका छन् ।
रौतहटमा ३७५ महिला यौनकर्मी रहेको अनुमान गरिएको छ । उनीहरु अधिकाँस चन्द्रनिगाहपुर क्षेत्रमा केन्द्रीत रहेको अनुमान गरिएको छ ।