रौतहट,१५ पुस । अंग्रेजी नयाँ वर्ष आउन एकदिन बाँकी छ। तर मधेशकै पर्यटकीय स्थल नुन्थरमा बहाय पर्यटकहरूको चहलपहल बढ्न थालेको छ ।
नयाँ वर्षलाई लक्षित गरेर नुनथरमा विभिन्न मनोरञ्जनका साधनहरू समेत राखिएको छ । मधेसकै रमणीय पर्यटकीय स्थलका रूपमा परिचित रहेको नुनथरमा यतिबेला भारतीय पर्यटकहरू समेत आउन थालेका छन् ।
अङ्ग्रेजी नयाँ वर्षको दिन रौतहटको एकमात्र पर्यटकीय स्थल नुनथर क्षेत्रमा पाइलो राख्ने ठाउँ समेत पाइँदैन । भोलि अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउनेहरूलाई मध्यनजर गर्दै नुनथर क्षेत्र विकास समितिले नुनथर क्षेत्रमा विभिन्न मनोरञ्जनका साधनहरूको व्यवस्था समेत गरेको छ ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मा पर्ने नुनथर क्षेत्रमा अङ्ग्रेजी नयाँ वर्ष आउनु अगाडि नै भारतीय पर्यटकहरू आउन थालेका छन् ।
आइतबार भारतको बिहार राज्यको मजफरपुरबाट एक बस भारतीयहरू नुनथर क्षेत्रमा रमाउनका लागि आएका थिए । नुनथरबाट बसको यात्रामा दुई घण्टामा पुगिने भारत बिहारको मोजफरपुरबाट आफूहरू सहपरिवार नुनथर क्षेत्रमा घुम्नका लागि आएको त्यहाँका स्थानीय बासिन्दा सुरेश कुमारले तराई एक्सप्रेसलाई बताए ।
आइतबार सुरेश कुमार जस्तै सयौं भारतीय नम्बरका ठूला तथा साना सवारी साधन लिएर भारतीयहरू हुल्काहुल नुनथरमा आएका थिए ।
आफूहरूले भारतीय तथा नेपाली पर्यटकहरूलाई मध्यनजर गरेर विभिन्न मनोरञ्जनका साधनहरूको समेत उपलब्धता गराएको नुन्थरका स्थानीय बासिन्दा शुभकामना पौडेलले बताए । भोलिको अङ्ग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै नुनथर क्षेत्रलाई सफा बनाउने तथा त्यसलाई व्यवस्थित बनाउनका लागि आफूहरू लागि परेको पौडेलको भनाइ रहेको छ । उचित प्रचारप्रसार र संरक्षणको अभावमा रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रहरू ओझेलमा पर्दै आएको भए पनि नुनथर क्षेत्र भने सधैं चलायमान रहने गरेको छ ।
रौतहट सर्लाही सिन्धुली र मकवानपुर जिल्लाको संगमस्थलका रूपमा बागमती नदीको किनारामा रहेको नुनथर क्षेत्रमा यतिबेला आन्तरिक तथा वाह्य पर्यटकहरूको चहलपहल बढ्न थालेको स्थानीय होटल व्यवसायी हरूको भनाइ रहेको छ ।
अंग्रेजी नयाँ वर्षका दिन आउने आन्तरिक तथा वाय पर्यटकहरूका कारण बागमती बजार र नुनथर क्षेत्रको व्यापार व्यवसाय उल्लेख्य मात्रामा बढ्ने स्थानीय बासिन्दा तथा नुनथर क्षेत्र विकास समितिका कोषाध्यक्ष गोपाल घिमिरेको भनाइ रहेको छ ।
केन्द्र सरकार तथा प्रदेश सरकारले अलिकता मात्र ध्यान दिए रौतहटको नुनथरमा रहेको पर्यटकीय स्थलको विकासमा टेवा पुग्ने मधेस प्रदेशका पूर्व पर्यटन मन्त्री तथा रौतहट क्षेत्र नम्बर ४ क का सांसद युवराज भट्टराई समिरको भनाइ रहेको छ ।
नुनथर क्षेत्रको विकास र वाय तथा आन्तरिक पर्यटनको आगमनलाई चलायमान बनाउनका लागि चन्द्रपुर नगरपालिकाले विशेष ध्यान दिएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेको भनाइ रहेको छ । नुनथर पर्यटकीय क्षेत्रका लागि चन्द्रपुर नगरपालिकाले सक्दो सहयोग गरिरहेको र आगामी दिनमा समेत बजेट विनियोजन गरेर त्यसलाई अझै उत्कृष्ट बनाउने तर्फ आफूहरुले काम गर्ने नगर प्रमुख काफ्लेले बताए ।
सो स्थानमा अंग्रेजी नयाँ वर्ष मनाउनका लागि विशेषगरी भारतको बिहार राज्यका विभिन्न स्थानबाट पर्यटकहरू आउने गरेका छन् । मधेस प्रदेशका अलावा मकवानपुर सिन्धुली, चितवन लगायतका स्थानबाट पिकनिक खान था घुम्नका लागि नुनथर क्षेत्रमा पर्यटकहरु आउने गरेका छन् ।








