काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको शनिबार औपचारिक बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले राजधानीमा एक कार्यक्रम आयोजना गर्दै टोलीलाई विश्वकपका लागि बिदाइ गरेको हो ।
विश्वकपअघि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने कार्यक्रम तय भएकाले नेपाली टोलीलाई शनिबार नै बिदाइ गरिएको क्यानले जनाएको छ । टोली आइतबार विदेश प्रस्थान गर्नेछ ।
बिदाइ कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले विश्वकप समग्र विश्वले हेर्ने ठूलो प्रतियोगिता भएको उल्लेख गर्दै टोलीलाई शुभकामना व्यक्त गरे ।
“यो समग्र विश्वले हेर्ने प्रतियोगिता हो । हामी सही दिशामा अघि बढिरहेका छौं । खेलाडी र व्यवस्थापन टिम सबैलाई शुभकामना छ,” खड्काले भने, “भारतमा नेपाली समर्थकहरूले पनि टोलीलाई साथ दिने विश्वास लिएको छु ।”
नेपाली टोलीका कप्तान रोहित पौडेलले विश्वकपको तयारी उत्साहजनक रहेको बताए ।
“तयारी निकै राम्रो भइरहेको छ । अभ्यास शृंखलाले राम्रो बिल्डअप भएको महसुस भएको छ,” पौडेलले भने, “सन् २०२५ नेपाली क्रिकेटका लागि उत्कृष्ट रह्यो । यो वर्ष पनि राम्रो हुने विश्वास छ । हामी सबै नेपालीलाई गर्व महसुस गराउनेछौं ।”
मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि अभ्यासमार्फत रणनीतिलाई अन्तिम रूप दिइने बताउँदै विश्वकपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
“अभ्यास खेलबाट हाम्रो योजना अझ स्पष्ट हुनेछ । विश्वकपमा राम्रो प्रदर्शन गरेर सम्पूर्ण नेपालीलाई खुसी दिनेछौं,” उनले भने ।
त्यसैगरी क्यान अध्यक्ष चतुरबहादुर चन्दले तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै भारतको कन्डिशन नेपाली टोलीका लागि अनुकूल हुने बताए ।
“तयारीमा कुनै कमी देखिएको छैन । भारतको वातावरण पनि मिल्दोजुल्दो छ । राम्रो प्रदर्शन गर्नुहोला,” चन्दले शुभकामना दिए ।
नेपाली क्रिकेट टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ । विश्वकपअघि नेपाली टोलीले श्रीलंका गएर श्रीलंका ‘ए’ टोलीसँग तथा भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ ।