बारा, १८ चैत ।
बाराको निजगढमा बुधबार दिउँसो भएको भीषण मोटरसाइकल दुर्घटनाले दुई युवाको ज्यान लिएको छ। पूर्व–पश्चिम राजमार्गजस्तो व्यस्त सडकखण्ड फेरि एकपटक रगताम्य बनेको छ।
निजगढ नगरपालिका–९ पश्चिम लच्का क्षेत्रमा विपरीत दिशाबाट आएका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालक गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरूलाई बचाउन सकेनन्।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र पथलैयाबाट निजगढतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३००४प ३६६१ नम्बरको एफजेड मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा सर्लाही लालबन्दी–७ का २२ वर्षीय बैभव ढुङ्गाना गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल एलएस न्युरो अस्पताल, बारामा पुर्याइएको थियो। तर उपचारकै क्रममा दिउँसो १२:४४ बजे चिकित्सकले मृत घोषणा गरे।
त्यस्तै, अर्को मोटरसाइकल चालक निजगढ–६ ध्यालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ पनि गम्भीर घाइते भएका थिए। प्रारम्भिक उपचारपछि उनलाई प्रादेशिक अस्पताल कलैया पठाइएको थियो, जहाँ दिउँसो १:१५ बजे उनको पनि मृत्यु भएको पुष्टि भएको छ।
स्थानीयवासी र प्रहरीको सक्रियतामा दुवै घाइतेलाई तत्काल उद्धार गरिएको भए पनि अवस्था अत्यन्तै गम्भीर रहेकाले चिकित्सकीय प्रयास असफल भएको जनाइएको छ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ। प्रारम्भिक अनुसन्धानमा तीव्र गति र चालकको असावधानी मुख्य कारण देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ भने व्यस्त राजमार्गमा सवारी चलाउँदा गति नियन्त्रण र ट्राफिक नियमको पालना गर्न सर्वसाधारणलाई कडा आग्रह गरेको छ।








