किशोर आत्मन
चन्द्रपुर,१५ पुस ।
डिभिजन वन कार्यालय रौतहटले आपूर्ति समिति मार्फत वितरण गरेको काठ भारतको बिहारसम्म पुग्ने गरेको पाइएको छ । आपूर्ति समितिले सर्वसाधारणको नाममा वितरण गरेको काठ छिमेकी देश भारतको बिहार राज्यको विभिन्न स्थानमा पुग्ने गरेको छ । काठको पहुँचबाट टाढा रहेका सर्वसाधारणका लागि डिभिजन वन कार्यालय रौतहटले आपूर्ति समिति मार्फत काठ वितरण गर्दै आएको छ ।
तर आपूर्ति समितिमा कार्यरत कर्मचारी र आपूर्ति समितिकै मिलेमतोमा सीमावर्ती क्षेत्रमा रहेका चिरानमिल सञ्चालकलाई काठ दिने गरिएको छ । सर्वसाधारणका नाममा आपूर्ति समितिबाट चिरान मिल सञ्चालकले लगेको काठ चिरान गरेर कडी बनाई भारतको बिहारका विभिन्न स्थानमा लगेर बिक्री वितरण गर्ने गरेको समाचार स्रोतले बताएको छ । सर्वसाधारणको नाममा आपूर्ति समितिमा बनेको पुर्जीका आधारमा सो काठ सिमावर्ती क्षेत्रमा रहेका चिरानमिलसम्म पुग्ने गरेको छ । सर्वसाधारण उपभोक्ताका नाममा रौतहट जिल्लाको राजपुर नगरपालिकामा रहेको एक चिरान मिलमा पुग्ने काठ चिरान गरेर भारतको बिहारका विभिन्न स्थानमा लगेर बिक्री वितरण गर्ने गरिएको समाचार स्रोतले तराई एक्सप्रेसलाई बताएको छ । काठको पहुँचबाट टाढा रहेका सर्वसाधारणको नाममा बनेको पुर्जी चिरानमिल सञ्चालकले खरिद गरी काठ लाने गरेका छन् । राजपुर र गौर नगरपालिकामा रहेका चिरानमिलले डिभिजन वन कार्यालय रौतहटको आपूर्ति समितिबाट सर्वसाधारणको नाममा लगेको काठ चिरान गरी सिमावर्ती बजारमा बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । डिभिजन वन कार्यालय रौतट अन्तर्गतको आपूर्ति समितिले सर्वसाधारणलाई भन्दा काठ व्यापारीलाई काठ बेच्नमै राम्रो ठान्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । सर्वसाधारणका नाममा लगिएको काठ यसरी सिमावर्ती बजारमा बिक्री वितरण हुन थालेपछि स्थानीय बासिन्दाले विरोध जनाउँदै आएका छन् । आपूर्ति समिति रौतहट चन्द्रपुरबाट जाने अधिकांश काठ रौतहटका सिमावर्ती बजारमा रहेका चिरानमिलमा पुग्ने गरेको छ । सिमावर्ती बजारमा रहेका चिरनमिनले गोलियालाई चिरान गरी विभिन्न साइज बनाई भारतको बिहार राज्यका विभिन्न बजारमा रातिको समयमा लगेर बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । सीमामा तैनाथ रहेका नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीलाई मिलाएर काठ व्यापारीहरूले नेपाली काठ बिहारी बजारमा लगेर बिक्री वितरण गर्ने गरेको एक स्थानीय बासिन्दाले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् । यतिबेला डिभिजन वन कार्यालय रौतहटमा आपूर्ति समिति खुलेर सर्वसाधारणका लागि काठ बिक्री वितरण खुल्ला गरिएको भएको पनि यहाँका सर्वसाधारणले सहजै रुपमा काठ पाउने गरेका छैनन् । चन्द्रनिगापुर र यसका आसपासका सर्वसाधारणले आपूर्ति समितिबाट काठ नपाउनु र सिमावर्ती क्षेत्रमा रहेका चिरान मिलसम्म सहजै काठ पुग्नुले वन कर्मचारीको नियतमा खोट देखिएको स्थानीय बासिन्दा अरुण लामाले बताए । आपूर्ति समिति मार्फत बिक्री वितरण गरिएको काठ सहजै रुपमा सीमा पारी पुग्ने गरेको विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रसँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन। वन कर्मचारीहरूकै अनुसार डिभिजन वन कार्यालय प्रमुख मिश्र नियमित रूपमा डिभिजन वन कार्यालय रौतहटमा नबस्ने गरेका कारण कार्यालयको कामकाज नै प्रभावित हुँदै आएको गुनासो बढ्दै जान थालेको छ। रौतहटको गौर घर भएका डिभिजन वन कार्यालय प्रमुख मिश्र अधिकांश समय डिभिजन वन कार्यालयमा भन्दा जिल्ला सदरमुकाम गौरमा भेटिने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । आपूर्ति समिति मार्फत वितरण हुने काठ यतिबेला सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको जुडिबेलाका स्थानीय बासिन्दा रमेश थापाको भनाइ रहेको छ ।
२०८० पुस १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।