चन्द्रपुर,१५ पुस ।
डिभिजन वन कार्यालय रौतहटका कर्मचारीहरूले नियमित गस्ती नगरेका कारण यतिबेला रौतहटको राष्ट्रिय वनबाट दाउराको नाममा काचा सालका लाथ्रा लाने क्रम बढदो रहेको छ । डिभिजन वन कार्यालय कार्यालय रौतहट अन्तर्गतको बागमतीदेखि धनसार पुलसम्म दर्जनौं डाँफे तथा यी रिक्साहरू हिजो आज दाउराको नाममा सालका काँचा लाथ्रा तथा काँचा रुखहरू काटेर ओसार्नमा व्यस्त रहेको देख्न सकिन्छ ।
शनिबार मात्र धनसारदेखि बागमतीसम्मको सडकमा दाउरा बोक्ने यी रिक्साको ताती नै देख्न सकिन्थ्यो । स्थानीय बासिन्दाहरूका अनुसार जिल्लाको दक्षिणी भेगबाट आउने यी रिक्साहरूले दाउरा लोड गरेबापत वन कर्मचारीलाई अवैध रुपमा पैसा बुझाएर दाउरा लाने गरेको बताइएको छ । पूर्वपश्चिम राजमार्गमै यी रिक्सा राखेर जङ्गलभित्र गई काँचो लाथ्रा काटी दाउरा बनाई यी रिक्सामा लोड गरेर वन चेक पोस्टकै अगाडिबाट लाग्दा समेत वन कर्मचारीले नदेखे झैँ गर्नुले उनीहरुकै मिलोमतोमा काँचो दाउरा जाने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । शनिबार बिहानैबाट रौतहट सहित मधेश प्रदेशका जिल्लामा हुसु र शीतलहरी बढेसँगै वनमा दाउरा लिन आउनेको संख्या समेत तीब्र रुपमा बढेको भएपनि त्यसतर्फ वन कर्मचारीले कुनै चासो देखाएको पाइँदैन । रौतहटको राष्ट्रिय वनबाट दाउराको नाममा लगिने सालका काँचा दाउरा जिल्लाको दक्षिणी भेगमा किलोको हिसाबमा बिक्री वितरण हुने गरेको छ । यता चन्द्रपुर नगर क्षेत्रमै एक ई रिक्सा दाउरा ४ देखि ५ हजारमा बिक्री हुने भएपछि यी रिक्सा चालकहरुले यात्रु बोक्नुको साटो दाउरा बोक्नमै ध्यान दिने गरेको पाइएको छ ।
वन कर्मचारीले यस्तो विषयमा खासै वास्ता पनि नगर्ने र देखिहाले सय ५० रुपैयाँ लिएर यी रिक्सा छाड्ने गरेका कारण यात्रु बोक्न छाडेर दाउरा बोक्ने यी रिक्साको संख्या समेत बढ्दै जान थालेको एक यी रिक्सा चालकले तराई एक्सप्रेसलाई बताए ।
कतिपय दाउरा लिन जाने यी रिक्साचालकहरूले दाउराका नाममा यि रिक्सा भित्र सानासाना गोलिया लुकाएर ल्याउने गरेको समेत समाचार स्रोतले बताएको छ ।
दाउराको नाममा जङ्गलबाट ल्याइएका साना साना गोलियालाई स्थानीय चिरान मिलमा लगेर झ्यालमा लाग्ने पासी बनाएर महँगोमा बिक्री वितरण गर्ने गरेको एक यी रिक्साचालकले जानकारी दिएका छन् ।
पछिल्लो समय जिल्लाको वन क्षेत्रमा वन कर्मचारीले नियमित रूपमा गस्ती नगरेका कारण जिल्लाको राष्ट्रिय वनमा व्यापक हानि नोक्सानी भएको स्वयं वन कर्मचारीहरूको भनाई रहेको छ ।२०८० पुस १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।