गण्डकी। ‘जेन्जी’ आन्दोलनको हल्ला र अफ्ठ्यारो स्थितिलाई मौका ठानेर रौतहट कारागारबाट फरार भएका एक कैदी अन्ततः पोखरामा पक्राउ परेका छन्।
हाडनाता जर्बजस्ती करणी जस्तो गम्भीर अपराधमा २५ वर्ष कैद सजाय सुनाइएका ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो।
भदौ २४ गतेको आन्दोलनका क्रममा जेलबाट भागेका परियार लामो समय फरार रहँदै आएका थिए। तर प्रहरीको निगरानीबाट धेरै दिन उम्किन सकेनन्। वडा प्रहरी कार्यालय बैदामको टोलीले उनलाई समातेर बिहीबार कास्की कारागारमा बुझाइसकेको छ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १० का परियारले अझै १८ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटना सार्वजनिक भएसँगै ‘आन्दोलनको आडमा अपराधी उम्किने’ प्रवृत्तिमाथि फेरि प्रश्न उठेको छ। प्रहरी स्रोतका अनुसार फरार अभियुक्तहरूलाई खोजी गर्ने अभियान अझै तीव्र बनाइने तयारी छ।