गरुडा,२३ फागुन । रौतहट जिल्लामा सञ्चालित निजी स्वास्थ्य संस्थाहरूले मनोमानी गरेको पाइएको छ ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले गत शनिबार चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेका ९ वटा निजी अस्पताल नियम विपरीत चलेको भन्दै बन्द गर्न निर्देशन दिएको कुरा सेलाउन नपाउँदै रौतटको मध्यभागमा रहेको गरुडा नगरपालिकामा अवैध रुपमा सञ्चालनमा रहेका १० वटा निजी अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् ।
बिहीबार साँझ अकस्मात गरुडा नगरपालिकाका निजी अस्पताल अनुगमनमा पुगेका मुख्यमन्त्री सिंहले मापदण्ड विपरीत सञ्चालनमा रहेका १० वटा निजी अस्पताललाई तत्काल बन्द गर्न पत्र दिएका हुन् । उनले पत्रको व्यवस्था गरी शुक्रबारबाट अस्पताल सञ्चालनमा ल्याएको खण्डमा सञ्चालकलाई पक्राउ गर्न समेत इलाका प्रहरी कार्यालय गरुडालाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहसहितको टोलीले अनुगमनका क्रममा गरुडा नगरपालिकाको शिवनगरमा रहेको आनन्द हस्पिटल एण्ड अकुपन्चर सेन्टरले गरुडा नगरपालिकाबाट २५ बेडको अस्पताल सञ्चालनका लागि अनुमति लिएर ५० बेड सञ्चालनमा ल्याएको पाइएको थियो । स्वास्थ्य ऐनमा स्थानीय तहले १५ बेडको अस्पताल सञ्चालनका लागि अनुमति दिन मिल्ने व्यवस्था रहेको छ ।
सो अस्पताललाई कानुन अनुसारको कारबाहीको प्रक्रिया अघि बढाउन मुख्यमन्त्री सिंहले निर्देशन दिएको मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिएका छन् ।
गरुडा नगर क्षेत्रमा मापदण्ड विपरीत सञ्चालनमा रहेका १० वटा निजी अस्पतालहरू रहेकोमा दशैवटालाई बन्द गर्ने पत्र दिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।
गरुडा सिटी हस्पिटल अनामिका हस्पिटल नेत्र ज्योति आई हस्पिटल गौर आँखा अस्पताल गरुडा अस्पताल होप अस्पताल सनसिटी अस्पताल सरस्वती हस्पिटल आनन्द हस्पिटल एण्ड अकुपन्चर सेन्टरलाई तत्काल बन्द गर्नका लागि पत्र थमाइएको हो ।