चन्द्रपुर २३ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि बन्द रहेका चन्द्रपुरका निजी अस्पतालहरू खुल्न थालेका छन् । प्रतिभेद एक वर्षको ४०००का दरले चन्द्रपुर नगरपालिकामा पैसा बुझाएर ३५ दिने पत्र लिएर अस्पतालहरु खुल्न थालेका हुन् ।
नगरपालिकाले पटकपटक नियमअनुसार सञ्चालन गर्न र नगरपालिकामा आएर अस्पतालको दर्ता प्रक्रिया सुरु गर्न भन्दा अटेर गर्दै आएका अस्पताल सञ्चालकहरुले मुख्यमन्त्रीले अस्पताल बन्द गर्ने पत्र थमाएसँगै बाध्य भएर धमाधम नगरपालिकामा पैसा बुझाउन थालेका हुन् ।
चन्द्रपुर नगर क्षेत्रमा रहेका १० वटा निजी अस्पतालमध्ये आठवटा मुख्यमन्त्रीको पत्रसँगै बन्द भएका थिए । कैयौँ अस्पतालले रातारात अस्पतालको नाम नै परिवर्तन गरेर चन्द्रपुर नगरपालिकाबाट १५ बेडको अस्पताल सञ्चालनका लागि ३५ दिने म्याद लिएका हुन् । ३५ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी चन्द्रपुर नगरपालिकामा अस्पताल दर्ता गर्नुपर्ने शर्त सहित नगरपालिकाले एक वर्षको राजस्व लिएर ३५ दिनका लागि अस्पताल सञ्चालन गर्नका लागि अनुमति दिएको चन्द्रपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत किरणनिधि तिवारीले जानकारी दिएका छन् ।
चन्द्रनिगाहपुरमा रहेको सिभिल ह्युमन हस्पिटल एन्ड रिसर्च सेन्टरले रातारात कम्पनी दर्ताको कार्यालयमा गई सिभिल ह्युमन हस्पिटल प्राली दर्ता गरी सोही अनुसार चन्द्रपुर नगरपालिकाबाट ३५ दिने पत्र लिएर सञ्चालन गरेको छ । सो हस्पिटलको रिसर्च सेन्टर एकै रातमा गायब भएको हो । अन्य अस्पतालहरूले समेत रातारात नाम परिवर्तन गरेर चन्द्रपुर नगरपालिकाबाट ३५ दिने पत्र लिएर अस्पताल सञ्चालन गरेका छन् ।
चन्द्रनिगाहपुरमा रहेका निजी स्वास्थ्य संस्थाहरूको मनोमानिका कारण आम सर्वसाधारणहरू मारमा पर्दै आएको गुनासो बढेपछि मधेस प्रदेश सरकारले अनुगमन तीव्र पारेको थियो ।