रौतहट, चन्द्रपुर – माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सार्वजनिक भएसँगै चन्द्रपुर नगरपालिका–५ मा अवस्थित नमुना इङ्गलिस आवासीय विद्यालयले यसपटक पनि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको छ। विद्यालयका सम्पूर्ण विद्यार्थीहरू शतप्रतिशत सफलता हासिल गर्दै उत्तीर्ण भएका छन् भने, उच्चतम ३.९५ GPA ल्याउन सफल भएका छन्।
विद्यालयका प्रधानाध्यापक लोक श्रेष्ठका अनुसार यसपटक पनि विद्यालयले अघिल्ला वर्षहरुझैँ जिल्ला स्तरमै उल्लेखनीय नतिजा ल्याउन सफल भएको हो। “हाम्रा विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर साथले गर्दा यस वर्ष पनि उत्कृष्ट परिणाम हासिल गर्न सक्यौँ,” प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो।
विद्यालयले अघिल्ला वर्षहरूमा पनि SEE परीक्षामा उत्कृष्टता देखाउँदै आएको छ। यसपटकको नतिजाले विद्यालयको शैक्षिक प्रतिबद्धता र गुणस्तरीय शिक्षाप्रतिको दृढताको पुनः पुष्टि गरेको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई यो सफलता प्राप्तिको लागि शुभकामना दिँदै, आगामी दिनहरूमा अझ उत्कृष्ट परिणाम ल्याउने विद्यालयको तयारी रहेको विद्यालय प्रशासनले जनाएको छ।








