रौतहट, १२ चैत । खुला सीमाको फाइदा उठाउँदै भन्सार छलीका सामान नेपाल भित्र्याउने गिरोहमाथि जिल्ला प्रहरी कार्यालय रौतहटले ठुलो कारबाही गरेको छ । सशस्त्र जाँचलाई चुनौती दिँदै खुलेआम अवैध कारोबार गरिँदै आएको अवस्थामा प्रहरीले एकैपटक लाखौं रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिँदै तस्करी सञ्जालको जालो उधिनेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट, गौरका अनुसार चैत १० गते बेलुका करिब ५ः३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले गौर नगरपालिका–४ बसपार्क चोकमा सवारी साधन जाँच गर्ने क्रममा शंकास्पद गतिविधि फेला पारेको हो । नियमित चेकजाँचकै क्रममा विभिन्न सवारी साधन रोकी जाँच गर्दा भन्सार छली गरेर नेपाल भित्र्याइएका सर–सामानहरू फेला परेका थिए ।
प्रहरीका अनुसार उक्त कारबाहीमा प्रारम्भिक रूपमा करिब ७ हजार २ सय रुपैयाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिइएको थियो । तर, यो मात्र सुरुवात थियो । त्यसपछि विभिन्न मिति र स्थानमा गरिएको थप अपरेशनबाट कागजपत्रविहीन १५ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ती मोटरसाइकलहरूको अनुमानित मूल्य करिब १९ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
यसरी विभिन्न चरणमा गरिएको कारबाहीबाट नियन्त्रणमा लिइएका सामान तथा सवारी साधनहरूको कुल मूल्य झण्डै १९ लाख ७७ हजार २ सय रुपैयाँ पुगेको प्रहरीको दाबी छ । नियन्त्रणमा लिइएका सम्पूर्ण सामग्री आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन गौर भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।
प्रहरी स्रोतका अनुसार सीमावर्ती क्षेत्र हुँदै भन्सार छलेर सामान भित्र्याउने गतिविधि पछिल्लो समय बढ्दो क्रममा रहेको छ । स्थानीय स्तरमा समेत यस्ता गतिविधिमा केही प्रभावशाली व्यक्तिहरूको संरक्षण रहेको आशंका गरिँदै आएको छ । तथापि, पछिल्लो कारबाहीले तस्करी नियन्त्रणमा प्रहरी केही कडा रूपमा प्रस्तुत भएको संकेत दिएको छ ।
यता स्थानीयवासी भने ‘छिटफुट कारबाहीले मात्रै तस्करी रोकिने अवस्था नरहेको’ बताउँछन् । उनीहरूका अनुसार दिनदहाडै भन्सार छलीका सामान ओसारपसार हुने गरेको दृश्य सामान्य भइसकेको छ । “प्रहरीले कहिलेकाहीँ देखाउने सक्रियता राम्रो हो, तर स्थायी समाधानका लागि निरन्तर कडाइ आवश्यक छ,” एक स्थानीयले गुनासो गरे ।
प्रहरीले भने अवैध गतिविधिविरुद्ध अभियानलाई थप सशक्त बनाइने स्पष्ट पारेको छ । “भन्सार छली, अवैध ओसारपसार तथा तस्करीमा संलग्न जो–कोहीलाई पनि कानूनको दायरामा ल्याइनेछ,” प्रहरीको चेतावनी छ ।
सीमामा कमजोर निगरानी र आन्तरिक मिलेमतोले तस्करी मौलाउँदै गएको अवस्थामा पछिल्लो कारबाहीले केही हदसम्म सन्देश दिएको भए पनि, वास्तविक नियन्त्रणका लागि अझै कठोर कदम आवश्यक देखिएको छ ।








