गृहमन्त्री सुधन गुरुङको कुर्सीमा बसाइ छोटो मात्रै होइन, निकै विवादास्पद पनि बन्यो। ‘ठुला माछा’ समात्ने दाबी गर्दै गृहमन्त्रालय छिरेका गुरुङ आफैं विवादको जालमा परेपछि २६ दिनमै बाहिरिन बाध्य भए।
चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका गुरुङ सुरुवातमै कडाभन्दा कडा कदम चाल्ने संकेत दिएका थिए। तर, विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको तथ्य बाहिरिएपछि परिस्थिति उल्टियो। जसले उनको नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठायो।
लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा उनको लगानी रहेको खुलेसँगै चौतर्फी दबाब चुलियो। ‘अरूलाई समात्ने’ मन्त्री आफैं ‘लगानी काण्ड’मा मुछिएपछि आलोचना झन् चर्कियो।
अन्ततः चौतर्फी आलोचना, राजनीतिक दबाब र नैतिक प्रश्नहरूको घेराबन्दीबीच गुरुङले बुधबार राजीनामा दिए। ‘ठुला माछा’ समाउने अभियान सुरु गर्न नपाउँदै आफैं जालमा परेका गुरुङको बहिर्गमनले सरकारको छविमाथि पनि प्रश्नचिन्ह खडा गरेको छ।