रौतहट, २० वैशाख ।
नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष डिल्लीबहादुर कार्की ‘सुब्बा’ले सरकारले लगाएको सरकारी विज्ञापनसम्बन्धी बन्देज तत्काल फुकुवा गर्न माग गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस को अवसरमा तराई एक्सप्रेस दैनिक अनलाइनसँग गरिएको कुराकानीमा उनले यस्तो बताएका हुन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा रौतहटको पत्रकारिताको अवस्था कस्तो छ?
कार्की: समग्रमा हेर्दा रौतहटमा अहिले प्रत्यक्ष रूपमा प्रेस स्वतन्त्रतामाथि ठूला आक्रमण वा अवरोधका घटना कम छन्। पत्रकारहरू काम गरिरहेका छन्, वातावरण पहिलेभन्दा केही सहज पनि देखिन्छ। तर यसको मतलब अवस्था पूर्ण रूपमा सन्तोषजनक छ भन्ने होइन।
मुख्य चुनौती के देख्नुहुन्छ?
कार्की: सबैभन्दा ठूलो चुनौती आर्थिक पक्ष हो। सरकारले सरकारी विज्ञापनमाथि बन्देज लगाएको छ, जसले देशभरिका स्थानीय सञ्चार माध्यमलाई असर पारेको छ। विशेषगरी जिल्लास्तरका मिडियाहरूको मुख्य आम्दानी नै विज्ञापन हो। यो बन्देजले मिडियाको घाटी निचोर्ने काम गरेको छ।
यसको प्रभाव कस्तो परेको छ?
कार्की: प्रभाव निकै गम्भीर छ। धेरै मिडियाले कर्मचारीलाई तलब दिन समस्या झेलिरहेका छन्, कतिपय बन्द हुने अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्नु झनै कठिन हुन्छ। आर्थिक रूपमा कमजोर मिडिया स्वतन्त्र रहन सक्दैन।
समाधान के हुन सक्छ?
कार्की: पहिलो कुरा त सरकारले यो बन्देज तुरुन्त फुकुवा गर्नुपर्छ। विज्ञापन वितरण प्रणाली पारदर्शी र समानुपातिक हुनुपर्छ। देशभरिका साना तथा स्थानीय सञ्चार माध्यमलाई समेट्ने नीति आवश्यक छ। प्रेस स्वतन्त्रता भनेको केवल कानुनी अधिकार होइन, टिकाउ संरचना पनि हो।
राज्यको भूमिकालाई कसरी हेर्नुहुन्छ?
कार्की: राज्यले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने हो भने मिडियालाई कमजोर बनाउने होइन, सशक्त बनाउने नीति ल्याउनुपर्छ। अहिले देखिएको नीतिले उल्टै मिडियालाई थिच्ने काम गरिरहेको छ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
कार्की: विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै गर्दा हामीले औपचारिक भाषण मात्र होइन, व्यवहारमा पनि स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ। मिडिया बाँचेन भने लोकतन्त्र कमजोर हुन्छ। त्यसैले सरकारले तत्काल कदम चालेर स्थानीय मिडियालाई बचाउनुपर्छ।