अशोक पहाडी
रौतहट,२७ असार । तीन दिन देखीको लगातारको बर्षाले रौतहटको जन जिवन अस्त व्यस्त बनेको छ ।
बिहानैबाट पुर्ब पश्चिम राजमार्गको चन्द्रनिगाहपुर स्थित लच्कामा आएको बाढीका कारण बन्द रहेको राजमार्गमा दिउसो १२ बजे पछि ठुला सवारी साधान मात्र चलेका छन् ।
चन्द्रनिगाहपुर बागमती सडक खण्डमा अझै सयौ सवारी साधान लाईनमा रहेका छन् । सशस्त्र प्रहरी ,जनपथ प्रहरी र ट्राफिक प्रहरीले सवारी साधानको अवस्था र बाढीको अवस्था हेरेर गाडी चल्न दिएको सशस्त्र प्रहरीका डिएसपी शशी पाण्डेले बताए ।
चन्द्रपुर नगरपालिकाको सबै वडा जलमग्न भएको नगर प्रमुख रामचन्द्र चौधरीले तराई एक्सप्रेसलाई बताए । पानीको निकासका लागि नगरपालिकाको डोजर बिहानैबाट सक्रिय बनाईएको चौधरीले बताए ।
चन्द्रपुर नगरपालिका वडानं ४मा भएको अव्यवस्थित प्लटिङका कारण समेत ४ नम्बर वडा डुवानमा परेको वडा अध्यक्ष अमर बहादुर आलेले बताए ।
बागमती नदीमा बाढीले बाँध भत्किएको छ । पुर्व बागमती र पश्चिम लाल बकैया नदिले घेरिएको सदरमुकाम गौर यतिखेर उच्च जोखिमा रहेको स्थानीयले बताए ।
बाँध भत्किएर गढिमाइ ३ लक्ष्मिपुर बस्तीमा बाढी पसिरहेको छ । नगरपालिकाको जेसिभी लगाएर एक छिन रोक्न प्रयास गरेपनि पानीको बहाब तिब्र भएकोले प्रयास असफ्ल भएको मेयर श्याम प्रसाद यादवले जानकारी दिए । दुई वर्षअघि बागमती नदिमा आएको बाढिले उक्त स्थानमा बाध भत्काएको थियो सो भत्केको बाध बलियो नबनाएको कारण पुन भत्केर गाउँमा पानी पस्न लागेको स्थानीहरुले बताए । त्यस्तै बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गढो लगायतका गाउँ डुबानमा परेका छन् ।
जिल्ला बिपद व्यवस्थापन समिती रौतहटका सयोजक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्ला का नदि र खोलामा बाढी आएपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।
जिल्ला सदरमुकाम गौर लगाएतका अन्य नगरपालिका तथा गाउपालिका जलमग्न भएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले अहिले सम्म बढीका कारण मानविय क्षती नभएको जनाएको छ ।