चन्द्रपुर,२१ मंसिर / सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि रौतहटका स्थानिय तहले विद्यार्थी केन्द्रित कार्यक्रम चलाउन थालेको छ । विद्यार्थीलाई नियमित उपस्थित गराउने उद्देश्यले विद्यालयमा दिवा खाजाको व्यवस्था गरिदिएपछि प्रभावकारी बन्दै गएको हो । रौतहटका विद्यालयमा दिवा खाजाको व्यवस्था गरेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति दर बढेर गएको छ । चालु आर्थिक वर्षवाट सुरु गरिएको यो कार्यक्रमले सामुदायिक विद्यालयमा ५ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम ल्याइएको हो । दिवा खाजा सञ्चालनका लागि स्थानिय तहले रकम विनियोजन गर्ने गरेको छ । दिवा खाजाको कार्यक्रम सुरु गरेपछि अध्ययन अध्यापनमा समेत सहजता भएकोे शिक्षकहरुको अनुभव छ । पहिलेपहिले खाना नखाई आएको भनेर विदा माग्ने विद्यार्थीहरु अहिले पूरा समय बस्न थालेका छन् । यस कार्यक्रमले शैक्षिक गुणस्तरमा समेत सुधार गर्दै गएको विद्यालयका प्रधानाध्यापकहरुकोे भनाइ छ । हाजिरीको आधारमा कक्षा १ देखी ५ सम्मका प्रत्येक विद्यार्थीलाई खाजाबापत २० रुपैया उपलब्ध गराउदै आएको छ । उक्त रकमले विद्यालयमा नै दैनिक रुपमा खाजाको व्यवस्थापन हुन थालेको छ । खाजा पाएपछि बिद्यार्थीहरु मन लगाएर पढ्ने र जोस जाँगरका साथ अतिरिक्त क्रियाकलापमा सहभागी हुने गरेको स्थानीयको भनाइ । रौतहटका स्थानिय तह भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि निजी विद्यालयमा विद्यार्थीको आकर्षण कम हुदै गएको छ ।