सर्लाही, फाल्गुन १८ । परम्परागत कुसंस्कारलाई चिर्दै र चुनौति दिंदै शुक्रवार मधेसी समुदायका एक युवकले बिना दाइजो आदर्श विवाह गरेका छन् । सर्लाहीको कबिलासी नगरपालिका वडा न-२ , पिपरियाका अनिल कुमार साहका छोरा अनिष कुमार साहले जिल्लाकै कौडेना गाउँपालिका वडा न-३ का वडा अध्यक्ष प्रभु चौधरीकी छोेरी रुपाली कुमारी सँग दाईजो नलिईकन विवाह गरेका हुन् ।तराइ–मधेश क्षेत्रमा मधेशी समुदायमा विवाह गर्न केटा पक्षले किटान गरी केटी पक्षसँग नगद र जेन्सी सामानहरु दाईजोको रुपमा माग्ने प्रचलन रहेको छ । तर साहले बेहुली तर्फबाट केहि पनि नलिई सामान्य रुपमा आदर्श विवाह गरेका छन । केटा पक्षबाट दाईजो नलिने र केटी पक्षले पनि दाईजो नदिने भन्ने समझादारी अनुसार विवाह गरिएको बताइएको छ । मुलुक २१औं शताब्दीमा प्रवेश गरिसकेकोले पुरानो कुसंस्कृती, नीति ,नियम र चलनको अन्त्य गनुपर्छ भन्ने संदेश समाजलाई दिने उदेश्यले लेनदेन बिनाको आदर्श विवाह गरिएको केटाको बुवा अनिल कुमार साहको भनाई छ ।

दाइजोलाई बेहुली तर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइने उपहारको रूपमा अत्यन्त हलुका ढंगले लिएको मात्र पाइन्छ । सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक छ । किनकि दाइजो सामान्य रूपमा उपहार जस्तो बुझिन्छ । उपहार दिए पनि हुन्छ र नदिए पनि हुन्छ । तर दाइजो रुपी सामाजिक कुप्रथाले सदियौँदेखि हाम्रो समाजमा जरा गाडेको एनजीओ कर्मी, सामाजिक अभियन्ता एवं बेहुला दाई निर्मल साहले बताउनुभयो ।बेहुलीका बुवा प्रभु चौधरीका अनुसार समाजबाट बालविवाह र दाइजो प्रथाको अन्त्य हुनुपर्छ भन्ने सोंच आफु जस्तै अरु जनप्रतिनिधिज्यूहरुले पनि राखिदिए भने एकैचोटी नभए पनि बिस्तारै बिस्तारै समाजबाट यस किसिमको सामाजिक कुप्रथा हटेर जाने थियो । दाइजो र बालविवाह विरुद्ध अभियानलाई सफल पार्न आफैबाट सुरुवात गर्नुपर्छ भनेर दुवै पक्षको आपसी सल्लाह तथा समझदारीमा दाइजो रहित आदर्श विवाह गरेका हौं , चौधरीले बताए । हाम्रो समाजमा दाईजोका कारण धरै घटनाहरु घटेका छन । शिक्षाको कमि तथा पुरानो कुसंस्कारका करण दाईजो प्रथाले स्थान पाउँदै आएको सामाजिक अभियन्ता निर्मल साहले बताए । उनले दाईजोका कारण विवाह पछि हुने शाररिक र मानसिक यताना समेत हुने गरेको बताए ।सो आदर्श विवाहमा सहभागी हुन आउनु भएका राजपा नेपाल अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर , प्रतिनिधी सभा सांसद राजेन्द्र महतो, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्य मन्त्री अभिराम शर्मा , गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव , कौडेना गाउँपालिकाका गापा अध्यक्ष राम प्रसाद यादव, चक्रघट्टा गाउँपालिकाका गापा अध्यक्ष बिक्रम यादव लगायतका विशिष्ठ ब्यक्तित्वहरुले नवविवाहित जोडीले चालेको पाइलालाई उदाहरणको रुपमा मान्दै उनीहरुले जस्तै सबै युवायुवती र उनीहरुका अविभावकले यसैगरि दाइजो रहित आदर्श विवाह गरे समाजबाट दाइजो र बालविवाह जस्ता कुप्रथाको अन्त्य हुने र एउटा सभ्य समाजको निर्माण हुने बताएका छन् । 

यसको निवारणका लागि विभिन्न नियम कानुन नबनेका पनि होइनन् । नेपालको संविधान २०७२ ले पनि महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिकरूपमा समान हुनुपर्ने परिकल्पना गरेको छ ।यसरी लैंगिक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रचलनमा ल्याइनु आफैमा विरोधाभाष हो । त्यसैले कानुनका पनाहरुमा मात्र सिमित नभई व्यवहारमै हामीले दाइजो रुपी कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने र अनिसले जस्तै आदर्श बिवाह गरेर दाइजो प्रथाको अन्त्य गर्न जरुरी देखिएको कौडेना गापा अध्यक्ष राम प्रसाद यादवको भनाइ छ ।बिवाह समारोहलाई पनि बढी देखावटी तडक भडकबाट अलग राखि सामान्य रुपमा सम्पन्न गरिएको थियो । उक्त तडक भडक आफुखुशी गरेको दुबै पक्ष को भनाई छ ।