चन्द्रपुर,१ चैत । चन्द्रपुर नगरक्षेत्रमा बनेका कालोपत्रे सडक गुणस्तरहिन बनेको पाईएको छ । चन्द्रनिगाहपुर स्थित मुनलाइट देखी सरकारी अस्पताल जाने कालोपत्रे सडक नबन्दै भत्केको कुरा सेलाउन नपाउदै चन्द्रनिगाहपुर स्थित ईलाका प्रहरी कार्यालय अगाडीबाट ठाडाटोल जानेबाटोको कालोपत्रे उक्कन थालेको स्थानीय बासिन्दाले बताएकाछन् । चन्द्रपुरको ४ नम्बर वडाको बजेटबाट बनेको कालोपत्रे सडक बनेको केही समयपनि नहुदै भत्कन थालेपछि स्थानीयले सडक गुणस्तरहिन भएको भन्दै आक्रोस जनाएका छन् । सो सडक पुन बनाउनुपर्ने वा बनाउने ठेकेदारलाई कार्वाही गर्नुपर्ने स्थानीयको भनाइ रहेको छ ।
यता चन्द्रनिगाहपुरको मुनलाईट देखी सरकारी अस्पताल सम्म जाने बाटो बनाउने ठेकेदारलाई माथिबाट टालटुल गर्न लगाएर रकम भुक्तानी दिने तयारी भएको समाचारस्रोतले जनाएको छ ।
ठेकेदारले सो सडक नबनाउदै भत्केको भन्दै स्थानीयले चन्द्रपुर नगरपालिकामा लिखित उजुरी दिएपछि रोकिएको भुक्तानी अहिले सडक टालटुल पछि दिने तयारी भएको बताईएको छ । नेकपा रौतहटका जिल्ला अध्यक्ष कमल यादव ठेकेदार रहेको सो सडकको रकम भुक्तानीका लागि नगरपालिकाका कर्मचारीनै सक्रिय रहेको पाईएको छ । नेकपाको सरकार रहेको र त्यसमा पनि जिल्ला अध्यक्षनै ठेकेदार रहेको सडक भत्केपछि कर्मचारीकै योजनामा टालटुल गरेर रकम भुक्तानी दिने तयारी भएको विस्वस्तस्रोतले जनाएको छ ।
नगरपालिकाका अन्य सडक समेत गुणस्तरहिन भएको भएपनि तैचुप मैचुप भन्दै रकम भुक्तानी दिएको जानकारहरुको भनाइ रहेको छ ।
यस्तो गम्भिर बिषयमा जनप्रतिनिधिनै चुपचाप रहनु राम्रो नभएको युवा समाजसेवी प्रमोद चौधरीको भनाइ रहेको छ ।