चन्द्रनिगाहपुर,१० चैत ।
दुई जनाको ज्यान जानेगरी २ चैतमा भएको दुर्घटनाको विषयलाई लिएर नेकपा एमाले रौतहटले मंगलबार गरुडामा बिरोध प्रर्दशनप्रती एमाले कै सांसद रेखाकुमारी झाले आपत्ति जनाएकी छिन् ।
सो घटनालाई लिएर नेकपा एमाले रौतहटले गरेको बिरोध प्रर्दशनको गरेपछि सांसद झाले व्यक्तिगत स्वार्थका लागि दुघर्टनालाई राजनीतिकरण गरेको आरोप लगाउंदै आन्दोलनमा नजान आग्रहसमेत गरेकी छिन् । दुर्घटनालाई राजनीतिकरण गरी एमालेको नाम र गरिमालाई भजाएर निष्पक्ष छानबिनमा असर पुग्ने गरी कुनै पनि प्रकारको आन्दोलन र विरोधका कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गर्न चाहान्छु । साथै यस आन्दोलनको कार्यक्रममा पार्टीको आधिकारिक नीति र निर्णय नरहेको जानकारी गराउदै गैरआधिकारिक जिल्ला कार्यसमितिको निर्णयलाई नमान्न आमएमाले कार्यकर्ता र नेतागणलाई आग्रह गर्दछु, झाले भनेकी छिन् ।
एमाले रौतहटले गरेको आन्दोलनलाई व्यक्तिगत स्वार्थको संज्ञा दिदै पार्टीको कुनै पनि आधिकारिक निर्णय नभएको पनि केन्द्रीय सदस्यसमेत रहेकी झाको भनाइ छ । कुनै एउटा व्यक्तिको ब्यक्तिगत स्वार्थका लागि सिंगो पार्टीलाई बदनाम नगर्न÷नगराउन सचेत गराउदै निष्पक्ष छानबिनलाई प्रभावित नपार्न चेतावनी दिन्छु, झाले अपिल गरेकी छिन् ।
हर्षाहा दुर्घटना ः प्रभु साहको नाम जोडेकोमा एमाले रौतहटको आपत्ति जनाएको छ । मौलापुर नगरपालिकाले भाडामा प्रयोग गर्दै आएको नागेन्द्र साहको बा १७ च ६१३३ नम्बरको गाडीले २ चैतमा ठक्कर दिँदा जितेन्द्र पटेल र हरिकुमार ठाकुरको ज्यान गएपछि जिल्लामा बिभिन्न प्रकारका टिका टिप्पणी हुदै आएको छ ।
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पोलिटब्युरो सदस्य साहकी श्रीमती हुन् भने नगरपालिकालाई भाडामा गाडी चलाउन दिने नागेन्द्र उनका भाइ हुन् । गाडी दुर्घटनामा पोलिटब्युरो सदस्य साहको परिवार जोडिएपछि साहले त्यसमा निरन्तर आपत्ति जनाउदै आएका छन् ।
सवारी चालकले गुडाइरहेको गाडीवाट दुर्घटना भएको, चालक घटनास्थलवाटै पक्राउ तत्कालै समातिएको विषय जगजाहेर हुदा प्रशासनले पोलिटब्युरो साहको परिवार जोडिएकै कारण राजनीति गरिएको भन्दै एमाले जिल्ला कमिटीका अध्यक्ष त्रिभुवन साहले प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएका थिए ।
दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनु सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गरेको नेकपा एमाले रौतहटका नेताहरुको भनाइ रहेको छ । २०७८ चैत १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।