हेटौँडा। देशकै जीवनरेखा मानिने महेन्द्र राजमार्ग अतिक्रमणको चपेटामा परेपछि सडक डिभिजन कार्यालय हेटौँडाले अन्ततः कडा कदम चालेको छ।
पथलैयादेखि चुरियामाईसम्म फैलिएको सडक खण्डमा अनधिकृत रूपमा ठड्याइएका घर–टहरा हटाउन कार्यालयले ३ दिने अल्टिमेटम जारी गर्दै ‘अब अटेर चल्दैन’ भन्ने स्पष्ट संकेत दिएको हो।
कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीद्वारा वैशाख ७ गते जारी सूचनामा सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र रहेका सम्पूर्ण संरचना वैशाख १० भित्र अनिवार्य हटाउन निर्देशन दिइएको छ। विशेषगरी ३ नम्बर पुल क्षेत्र र चुरियामाई मन्दिर आसपासका अतिक्रमणलाई लक्षित गर्दै प्रशासनले ‘कानुनको डण्डा’ चलाउने तयारी देखाएको छ।
यसअघि पनि २०७३ मङ्सिर १८ र २०८० असार ९ मा सूचना जारी हुँदासमेत अटेरी शैलीमा संरचना नहटाइएको भन्दै कार्यालय आक्रोशित बनेको छ। पटक–पटकको चेतावनीलाई बेवास्ता गर्दै सार्वजनिक सडकलाई निजी सम्पत्तिजस्तो प्रयोग गर्ने प्रवृत्तिलाई अब सहन नसकिने स्पष्ट पारिएको छ।
यदि तोकिएको समयसीमाभित्र अतिक्रमण हटाइएन भने सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी दिँदै प्रशासनले ‘एक्सन मोड’ मा जाने संकेत दिएको छ।
सडक अतिक्रमणको यो जालो हटाउने अभियान अब निर्णायक मोडमा पुगेको देखिन्छ—प्रशासनको अल्टिमेटमपछि अवैध संरचना ढल्छन् कि फेरि पनि अटेरी दोहोरिन्छ, त्यो भने केही दिनमै स्पष्ट हुनेछ।