रौतहट।
सरकारी जागिरको आडमा निजी ठेक्का चलाएर स्थानीयमाथि धाक देखाउने एक ओभरसियरका कारण चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती टोलका बासिन्दा यतिबेला त्रासमा परेका छन्।
बोन बहुवरी घर भएका सडक डिभिजनका ओभरसियर सुरेन्द्र शाहले आफ्नै बुवा र काकाको नाममा निर्माण कम्पनी दर्ता गराई सोही कम्पनीमार्फत नयाँ बस्तीमा सडक र नाला निर्माणको काम हात पारेका थिए। तर, काम सुरु भएदेखि नै गुणस्तरमा गम्भीर प्रश्न उठेपछि स्थानीयले विरोध जनाएका थिए।
स्थानीयका अनुसार सडक ग्रेडिङ नगरी हतार–हतार ढुंगा हाल्ने, नालामा कमजोर सामग्री प्रयोग गर्ने जस्ता काम भएपछि विरोध चर्किएको हो। तर, विरोध सुन्ने सट्टा ओभरसियर शाह आफैं दलबलसहित गाउँ पुगेर स्थानीयलाई थर्काएको आरोप छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले “म इन्जिनियर हुँ, मलाई सबै थाहा छ” भन्दै स्थानीयलाई डराउने, काममा अवरोध नगर्न चेतावनी दिने दृश्य देखिएको बताइन्छ।
स्थानीय बासिन्दा भन्छन्, “आफैं ठेक्का लिने, आफैं काम गर्ने अनि कमजोर काम गर्दा पनि प्रश्न उठाउँदा उल्टै धम्की दिने—यो कस्तो सरकारी कर्मचारीको व्यवहार हो?”
घटनामा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अन्य कर्मचारीहरूको समेत मिलेमतो रहेको आशंका स्थानीयले व्यक्त गरेका छन्। हाल शाह जनकपुरस्थित सडक डिभिजन कार्यालयमा कार्यरत छन्।
सोमबार स्थानीयले काम रोक्न दबाब दिएपछि उनी दलबलसहित गाउँ पुगेको र त्यस क्रममा तनाव सिर्जना भएको बताइएको छ।
यता स्थानीयले गुणस्तरहीन निर्माण तत्काल रोक्न र घटनाको छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। तर, अहिलेसम्म सरकारी निकायबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
सरकारी कर्मचारीकै हर्कतले सर्वसाधारण त्रसित बन्नु र विकासका नाममा गुणस्तरहीन काम हुनु आफैंमा गम्भीर प्रश्न बनेको छ।








