काठमाडौं,२१ । रौतहट जिल्लाको क्षेत्र नम्बर ४ (क) मा नेकपा (एकीकृत समाजवादी) र नेकपा एमालेबीच कडा टक्कर हुने देखिएको छ ।
यस प्रदेशमा समाजवादीको तर्फबाट बालकृष्ण श्रेष्ठ र एमालेको तर्फबाट अखिलेश्वर चौधरी चुनावी मैदान रहेका छन् । यहाँका मतदाताहरुले यी दुई मध्ये एकलाई जिताउने आँकलन गर्न थालिएको छ ।
स्थानीय तहको निर्वाचनमा आएको मत, दुबै जनजाति उम्मेदवारहरुले आ–आफ्नो समुदायबाट तान्न सक्ने मत, नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चर्किएको मतभेद तथा काँग्रेसको प्रदेशमा उम्मेदवार नहुनुको फाइदा श्रेष्ठ र चौधरीले उठाउन सक्छन् ।
यी दुबै उम्मेदवारहरुले आ–आफ्नो पक्षमा परिणाम आउने दाबी समेत गर्न थालेका छन् ।
श्रेष्ठ र चौधरी तत्कालीन अवस्थामा एउटै पार्टी नेकपा एमालेमा थिए । पछि पार्टी विभाजन हुँदा श्रेष्ठ एकीकृत समाजवादीतर्फ लागे भने चौधरी एमालेमै रहे । विगतमा एउटै पार्टीका लागि काम गरेको आधारमा समेत यी दुई पार्टी र उम्मेदवारहरु बीच आपसी सद्भावको अवस्था पनि देखिएको छ । चुनावी अभियानहरुमा जम्काभेट हुँदा श्रेष्ठ र चौधरीले एकले अर्कालाई शुभकामनासहति अग्रिम बधाई दिने समेत गरेका छन् ।
प्रदेश (क) मा चन्द्रपुर नगरपालिकाका १० वटा वडा र बृन्द्रावन नगरपालिकाको ३ वटा वडा समेटिएको छ । यहाँ करीब ५९ हजार मतदाता रहेका छन् ।