चन्द्रपुर,६ असार । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मा रहेको एक सामुदायिक वनका पदाधिकारीकै मिलेमतोमा ठाडो रुख काटिएको छ । चन्द्रपुर नगरपालिका वडा नं. १ मा रहेको जनसेवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दण्डवहादुर पुलामीकै मिलेमतोमा गैरी गाउमा सुकेको एउटा ठाडो रुख काटिएको छ । सा रुखको १४ वटा गोलिया बनाएर विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा स्थानीय उपभोक्ताले बरामद गरेका छन् । लुकाएर राखेको सालको गोलिया बरामद गर्नका लागि उपभोक्ताहरुले चन्द्रपुर नगरपालिका वडा नं. १ को कार्यालय घेराउ गरेपछि वडा अध्यक्ष बलराम राउत सहितको जनप्रतिनिधिको टोलीले लुकाएर राखेको स्थानबाट काठ बरामद गरेर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको थियो । उपभोक्ताले वडा कार्यालयमा उजुरी हालेपछि वडा कार्यालयले छानविन समिति समेत गठन गरेको वडा अध्यक्ष बलराम राउतले जानकारी दिए । सामुदायिक वनका अध्यक्ष सहितका केही व्यक्तिले ठाडो रुख काटेर बेच्ने मनसायले विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा बरामद भएको थियो । वडा कार्यालयले एम बहादुर राना मगरको संयोजकत्वमा ठाडो रुख काटिएको विषयमा छानविन समिति गठन गरेको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कर्णका अनुसार जनसेवा सामुदायिक वन उपभोक्ता समूहकै पदाधिकारीको मिलेमतोमा रुख काटिएको आफुहरुले जानकारी पाएको र काटिएको रुखका गोलिया डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा राखिएको जानकारी दिए । उनले ठाडो रुख काटिएको विषयमा डिभिजन वन कार्यालयले बुधवार छानविन समिति बनाएर कारवाही प्रक्रिया अगाडि बढाउने बताए । २ सय ४३ क्युफिट सो काठ डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा राखिएको भएपनि ठाडो रुख काट्ने सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा रुख काट्ने उपर हालसम्म कुनै कारवाही हुन सकेको छैन । स्थानीय बासिन्दाले ठाडो रुख काट्ने उपभोक्ता समूहका अध्यक्ष सहितका पदाधिकारीमाथि कडा कारवाहीको माग राखेका छन् । ठाडो रुख काटेर बेच्ने मनसायले गोलिया बनाई विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा आफुहरुले गोलिया बरामद गरी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको चन्द्रपुर नगरपालिका वडा नं. १ ले बनाएको छानविन समितिका अध्यक्ष यम बहादुर रानाले बताए । रौतहटका विभिन्न सामुदायिक वन उपभोक्ता समूह तथा साझेदारी वन उपभोक्तासमूहकै पदाधिकारीको मिलेमतोमा ति बनमा व्यापक रुपमा हानीनोक्सानी हुदै आएको छ । अनियमित रुपमा आर्थिक अनियमितता गर्ने र समयमा साधारण सभा समेत नगर्ने सामुदायिक वन उपभोक्ता समूह माथि डिभिजन वन कार्यालयले कारवाही प्रक्रिया अगाडि नबढाएका कारण ति सामुदायिक वन उपभोक्ता समूह समिति व्यक्तिको कब्जामा रहेको भन्दै विगत लामो समयदेखि विरोध हुदै आएको छ ।









