चन्द्रपुर १० बैशाख । किशोरी तथा युवतीका लागि सुरक्षित र सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले ‘सेफ गल्र्स’ परियोजनाअन्तर्गत सेवा प्रदायक लक्षित पाँच दिने तालिम रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
गौर, राजपुर, परोहा, यमुनामाई र देवाही गोनाही नगरपालिका क्षेत्रका सामुदायिक मनोसामाजिक कार्यकर्ता, स्वास्थ्यकर्मी तथा मेन्टरहरूको सहभागितामा सञ्चालन गरिएको उक्त तालिम किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी स्रोत विश्लेषणमा केन्द्रित रहेको थियो ।
ग्रामीण विकास केन्द्र (आरडिसी) नेपालका अनुसार तालिममार्फत किशोर–किशोरीहरूको आवश्यकता पहिचान गरी उनीहरूलाई गुणस्तरीय तथा पहुँचयोग्य सेवा प्रदान गर्न सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा स्वास्थ्यकर्मी, समाजसेवी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को आर्थिक तथा प्राविधिक सहयोगमा गुड नेबर्स इन्टरनेशनल नेपाल र ग्रामीण विकास केन्द्र नेपालको संयुक्त सहकार्यमा सञ्चालन गरिएको हो ।
तालिमका प्रशिक्षक मनोविद् बिपिन थापाले किशोरी तथा युवतीहरूको स्वास्थ्य र सुरक्षामा गरिएको लगानीले समग्र समाजको भविष्य सुरक्षित हुने बताउनुभयो ।
उहाँले यस्ता तालिमहरूले सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गरी प्रभावकारी सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच, आरडिसी नेपालकी सहजकर्ता प्रिया चौरसियाले तालिमले स्थानीय तहमा किशोर–किशोरी मैत्री सेवा विस्तारका लागि महत्वपूर्ण आधार तयार गरेको बताउनुभयो । उहाँका अनुसार सहभागीहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सकेमा मात्र किशोरी तथा युवतीको स्वास्थ्य, सुरक्षा र अधिकार सुनिश्चित गर्न ठोस उपलब्धि हासिल गर्न सकिनेछ ।