मौलापुर,१० साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गौरमा भएको बिभत्स हत्याकाण्डको अपराधीहरुलाई बचाउन फेरी जालझेल एवं षड्यंत्र शुरू भएको बताएका छन् । उनले सो कुरा मौलापुरमा आयोजित एक कार्यक्रममा बताएका हुन ।
साहले गौर हत्याकाण्डका अपराधीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । राईसमिल हत्याकाण्ड घटना २०६३ साल चैत्र ७ गतेका दिन रौतहटको गौरमा घटेको थियो । सो घटनामा २८ जानाको ज्यान गएको थियो । उक्त घटनालाई आम जनता पार्टी नेतृत्वका “गौर हत्याकाण्ड पीडÞित संकर्षण समिति”ले घटनामा संलग्न रहेका दोषीमाथि कारबाहीको माग गरेको छ ।
उक्त घटनालाई छानबीन गरी दोषीलाई करवाहिको मांग गर्दै साउन १५ गते देखि अनिश्चितकाल रौतहट बन्द गर्ने घोषणा पनि गरेको छ । गौर घटनामा पीडित भएकाहरुलाई हर सम्भव सहयोग गरी न्याय दिलाउनु पर्ने र यसको लागि यस जिल्लामा अब प्रतिक्रियावादीहरुको दाल नगल्ने बताउदै साहले आउँदो १४ गते गौर घटनाका पीडित परिवारहरुको हौसला बढाउन मोटर साइकल र्यालीमा सहभागी हुन अनुरोध गरेको छन । परिस्थिति चाहे जे जस्तो होस सत्यको पक्षमा हामी उभिने र लड्ने छौ उनले भने ।
त्यस्तै अहिले देशमा किसानहरूको अवस्था एकदम दयनीय रहेको तथा विद्युतको लाइनको कारण पीडा झन् थपिँदै गएको छ । सरकार पक्षबाट किसानलाई विभेद गरिँदै गरेको र संघ तथा प्रदेशमा रहेको कृषि र सिंचाई मन्त्रालयले किसानको समस्याप्रति गम्भीर नरहेको कारण सो मन्त्रालयको काम नरहेको आजपा अध्यक्ष साह बताए ।