सर्लाही,२२ पुस । जिल्लाको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव अझै पनि घटनास्थलबाट उठाइएको छैन । आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा शव घटनास्थलमै रहेको हो । बरहथवा(६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो ।
शनिबार नै गृहमन्त्रालयले घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो ।शव व्यवस्थापनका विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा पीडित र प्रहरी प्रशासनका प्रतिनिधिबीच छलफल पनि भएको थियो । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहित जिल्लाका सुरक्षा अधिकारी समेतको सहभागितामा भएको छलफल विना निष्कर्ष सकिएको थियो ।
आज बिहान पुनः आन्दोलनरत पक्ष, मृतक परिवारका सदस्यसहित इलाका प्रशासन कार्यालय बरहथवामा छलफल हुन लागेको जिल्ला प्रही कार्यालय सर्लाहीका प्रमुख एसपी प्रविण धितालले बताए ।








