बिश्रामपुर,२६ पुस ।
रौतहटको एक पालिकामा रहेको स्वास्थ्य केन्द्रले मिटर नलिकन बिजुली चोरेर बाल्ने गरेको पाइएको छ ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर २ मा रहेको सहरी स्वास्थ्य केन्द्रको भवनमा बिजुली चोरेर बाल्ने गरिएको हो ।
सुस्वास्थ्य केन्द्रमा मिटर नै जडान नगरी बिजुली चोरेर बाल्ने गरेको स्वयं कर्मचारीहरुले बताएका छन् ।
मिटर भएपनि लाइन मिटरमा नलगाइकन सिधै चोरेर विभिन्न उपकरणहरु चलाइने गरिएको छ । सरकारी स्वास्थ्य संस्थाले बिजुली चोरेर बाल्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरूले बिजुलीको बिल नतिरेको भन्दै धमाधम लाइन काटिरहेको अवस्थामा वृन्दावनमा रहेको शहरी स्वास्थ्य केन्द्रले भने चोरेरै बिजुली बाल्ने गरेको पाइएको छ ।
नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाका प्रमुख धीरेन्द्र यादवले बिजुली चोरेर बालेको भेटिएमा तत्काल लाइन काटेर सो सहरी स्वास्थ्य केन्द्रका कार्यालय प्रमुखलाई समेत कारबाही गर्ने चेतावनी दिएका छन् ।
यता सुकुम्बासीका नाममा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ को नहर टोलमा बस्नेहरूले हुकिङ गरेर बिजुली बाल्ने गरेको भए पनि त्यसतर्फ विद्युत प्राधिकरणको ध्यान जान सकेको छैन ।
सो स्थानका सयौं बासिन्दाले हुकिङ गरी बिजुली चोरेर बाल्ने गरेको भएपनि नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाको त्यसतर्फ ध्यान जान नसकेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
यता नेपाल विद्युत प्राधिकरण गौर शाखाले जिल्लाका विभिन्न स्थानमा बिजुली चोरी गरेर बाल्नेमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्राधिकरण गौर शाखाले गरुडा क्षेत्रबाट मङ्गलबार मात्र बिजुली चोरेर बाल्ने तीनजनालाई पक्राउ गरेर लगेको छ ।
नेपाल विद्युत प्राधिकरण गौर शाखाले जिल्लाका विभिन्न स्थानमा रहेका मदरसाहरूले चोरेर बिजुली बाल्ने गरेको पाइएकाले उनीहरुले चोरेर बालेको बिजुलीको तार सहित उखालेर लगेको बताएको छ ।