रौतहट,१२ माघ । रौतहटको रङ्गपुर साझेदारी वन उपभोक्ता समूहको साधारण सभा गोप्य रुपमा गर्न लागिएको उपभोक्ताहरूले बताएका छन्।
कार्यविधि विपरीत रङ्गपुर साझेदारी वन उपभोक्ता समूह चलेको भन्दै तत्कालीन वन अधिकृतले साधारण सभा गर्नका लागि निर्देशन दिएका थिए। विधान विपरीत रङ्गपुर साझेदारी वन उपभोक्ता समूह सञ्चालनमा रहेको भन्दै रौतहटका तत्कालीन वन प्रमुख सुनिल कर्णले तत्कालीन समूहलाई खारेज गरी नयाँ समूह गठनका लागि साधारण सभा गर्न मिति तोकेका थिए।
तर पछिल्लो समय डिभिजन वन कार्यालयका केही कर्मचारीको मिलोमतोमा रङ्गपुर साझेदारी वन उपभोक्ता समूहको साधारण सभा उपभोक्तालाई नै जानकारी नदिइकन गर्न लागिएको भन्दै विरोध जनाइएको छ। रङ्गपुर साझेदारी वन उपभोक्ता समूहको भोलि शनिबार गडुरा नगरपालिकाको झाँझ पुलस्थित एक विद्यालयमा साधारण सभा हुने भएको छ । सो कुराको जानकारी आम उपभोक्तालाई नदिइकन वन कर्मचारीको मिलो महत्त्वमा गोप्य रुपमा साधारण सभा गर्न लागिएको रङ्गपुर साझेदारी वन उपभोक्ता समूहका एक उपभोक्ताले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएका छन् । सहायक वन अधिकृत राम केवल रायको मिलोमतोमा गोप्य रूपमा रङ्गपुर साझेदारी वनको उपभोक्ता समूह गठनका लागि साधारण सभा आह्वान गरिएको समाचार स्रोतले बताएको छ। पछिल्लो समय रङ्गपुर साझेदारी वन उपभोक्ता समूहको वन क्षेत्रमा वन कर्मचारीकै मिलोमतोमा व्यापक रुपमा काँचा सालका रुख काटिएको स्थानीय बासिन्दाले बताउँदै आएका छन्।








