चन्द्रपुर,१६ माघ ।
रौतहट जिल्लाका भित्री पीच सडकहरू स्थानीय बासिन्दाको बिस्कुन चुकाउने थलोका रुपमा परिणत हुन थालेका छन् ।
पालिकाहरूले गाउँका बाटोहरू पिच तथा ढलान गरेपछि स्थानीय बासिन्दालाई बिस्कुन सुकाउने र गाईवस्तु बाँध्ने ठाउँका रूपमा परिणत हुन थालेको छ ।
रौतहट जिल्लाका अधिकांश भित्री पीठ तथा सडक बाटोहरूमा सवारी साधन हिँड्नै नमिल्ने गरी बिस्कुन तथा गाई वस्तु बाँध्ने गरिएका कारण सवारी साधन आवागमनमा समस्या भएको छ ।
स्थानीय पालिकाहरूले सर्वसाधारणको सहजताका लागि गरिदिएको पिच र ढलान सडक यतिबेला सर्वसाधारणका लागि गाईवस्तु बाँध्ने थलो तथा बिस्कुन सुकाउने ठाउँका रुपमा परिणत हुँदै गएपछि समस्या उत्पन्न हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन् ।
सवारी गुड्ने भित्री सडकहरूमा असरल्ल पराल सुकाउने र गाई बाख्रा बाँध्ने गरेका कारण सवारी दुर्घटनाको खतरा बढ्दै गएको कटहरियाका स्थानीय बासिन्दा शम्भु साहले बताए ।
जिल्लाका ग्रामीण पिच तथा ढलान सडकमै वस्तु बाँधेर राखिने गरेका कारण ती स्थानमा जाने सवारी साधनले बाटो नै नपाउने गरेको शाहको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ७ को नयाँ बस्तीका भित्री सडकहरू पिच तथा ढलान गरिएका छन् । तर पिच र ढलान सडकमै पराल सुकाउने देखि बाख्रा बाँध्ने काम भएका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै जान थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । बीच सडक तथा ढलान सडकको महत्त्वका बारेमा स्थानीय बासिन्दालाई जानकारी नभएका कारण उनीहरूले सडकमै बिस्कुल सुकाउने पराल सुकाउने देखि लिएर गाईवस्तु बाँध्ने गरेको स्थानीय बासिन्दा प्रयाग साहको भनाइ छ ।
भित्री सडक मात्र नभएर हुलाकी राजमार्गमा समेत स्थानीय बासिन्दाले बिस्कुल सुकाउने गरेका कारण सो राजमार्ग भएर तीव्र गतिमा गुड्ने सवारी दुर्घटना बढ्दै जान थालेको बंकुलका सञ्चारकर्मी आदर्श उपाध्यायको भनाइ रहेको छ ।
जिल्लाका भित्री सडकमा हुने यस्ता गतिविधिका कारण भित्री सडकहरूमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै जान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले बताएको छ । चन्द्रपुर नगरपालिकाले वडा नम्बर ७ को नयाँ बस्तीमा लाखौं खर्च गरेर बनाएको पिच सडक तथा ढलान सडक यतिबेला स्थानीय बासिन्दाको बिस्कुल सुकाउने थलो र गाई बाख्रा बाँध्ने ठाउँका रुपमा परिणत हुँदै जान थालेको छ । स्थानीय बासिन्दामा चेतनाको अभाव भएका कारण उनीहरूले सडकमै बिस्कुन सुकाउने पराल सुकाउने देखि गाई बाख्रा बाँध्ने काम गरेको देख्न सकिन्छ । यस्तो विषयमा चेतना फैलाउने काम चन्द्रपुर नगरपालिकाबाट हुन नसकेको चन्द्रपुर आठका स्थानीय बासिन्दा अमृत सापकोटाले बताए । २०८० माघ १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।