चन्द्रपुर,१७ माघ ।
चन्द्रनिगाहपुर गौर सडक खण्डको विभिन्न स्थानमा रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको चेक पोइन्टले सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो बढेको छ ।
नेपाल प्रहरीको सदरमुकाम गौरीस्थित बसपार्क, बम नहार, सुखदेव चोकमा रहेको चेकपोइन्टले सवारी साधन रोकेर यात्रुहरूलाई अनावश्यक दुःख दिने गरेको गुनासो बढेको हो ।
सीमावर्ती बजार वर्गिनियाबाट घरका लागि ल्याएको सामान्य सामानहरू रोकेर पैसा लिएर मात्र छाड्ने गरेको गुनासो बढेको हो। यता सशस्त्र प्रहरीले पनि चेकजाँचका नाममा राजमार्गमा सवारी रोकेर सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो तीव्र रुपमा बढेको छ ।
वर्गिनियाबाट केही किलो लुगा धुने सरफ लगायतका केही सामान लिएर म्याजिक चढेर आउँदा नेपाल प्रहरीको सुखदेव चोक र बम नहारमा रहेको चेकपोस्टमा कार्यरत प्रहरीले एक एक सय असुली गरेको गरुडाका स्थानीय बासिन्दा हरि किसुन शाहले गुनासो गरे ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले चन्द्रनिगापुर गौर सडक खण्डको विभिन्न स्थानमा थाप्ने धरापमा अपराधी गतिविधिमा लाग्ने भन्दा सर्वसाधारणहरु बेसी पीडामा पर्ने गरेको गुनासो बढ्दै जान थालेको छ ।
चेक जाँचका नाममा चन्द्रनिगापुर गौर सडक खण्डमा चल्ने म्याजिक तथा बसलाई रोकेर प्रहरीले अनावश्यक खान तलासी गर्ने गरेको र दुख दिने गरेको स्वयं सवारीचालकहरुले गुनासो गरेका छन् ।
चन्द्रनिगापुर गौर सडक खण्डको विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचका नाममा सर्वसाधारणलाई दुःख दिने काम गरेको चन्द्रनिगापुरका स्थानीय युवा राज हुमागाईंको भनाई रहेको छ ।
यता सुरक्षा तथा चेकजाँचका नाममा चन्द्रनिगापुर गौर सडक खण्डको विभिन्न स्थानमा रहेका प्रहरी चौकी अगाडि प्रहरीले टायर राखेका कारण सो स्थानमा समेत दुर्घटनाको खतरा बढ्दै जान थालेको छ । चन्द्रपुर नगरपालिकाको डुमरिया इलाका प्रहरी कार्यालय अगाडि र प्रहरी चौकी हर्ष अगाडि प्रहरीले टायर राखेर अवरोध खडा गरेकाले रातिको समयमा तीव्र गतिमा गुड्ने सवारी साधनलाई दुर्घटनाको खतरा बढेको गुनासो बढ्दै जान थालेको छ ।
सडक डिभिजन कार्यालय चन्द्रनिगापुरका एक इन्जिनियरका अनुसार राजमार्गमा यसरी टायर राखेर अवरोध खडा गर्ने नियममा कतै उल्लेख नभएपनि सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी प्रहरीले यसरी राजमार्गमा टायर राख्न सक्ने बताए । सशस्त्र प्रहरीले पनि चन्द्रनिगापुर गौर सडक खण्डको विभिन्न स्थानमा चेकजाँच खडा गरेर सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा रौतहटको सीमाबाट खुलेआम तस्करी भइरहेको भएपनि उनीहरूले चेकजाँचका नाममा राजमार्गमा सवारी रोकेर सर्वसाधारणलाई दुःख दिने काम गरेको सर्वसाधारणको भनाइ रहेको छ । प्रहरी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका ठूला हाकिमले ठूला तस्करसँग सेटिङ गरेर तस्करीको ठूलो लाइन खोलेको र प्रहरीका साना तल्लो दर्जाका कर्मचारीले यस्तै राजमार्गमा धराप थापेर सर्वसाधारणसँग अनावश्यक रूपमा रकम असुल्ने गरेको आरोप लाग्दै आएको छ ।
चन्द्रनिगापुर गौर सडक खण्डमा समयका हिसाबले चल्ने बस तथा मैजिकहरु सशस्त्र प्रहरी र नेपाल प्रहरीको चेक पोइन्टका कारण सधैँ ढिलो गौर तथा चपुर पुग्ने गरेको सवारीचालकहरुले गुनासो गरेका छन् । २०८० माघ १७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








