गरुडा,१९ माघ ।

रौतहट जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकामा नगरपालिकाकै उपप्रमुख सहितको टोलीले ताला लगाएको एक महिना पुगेको छ ।
गरुडा नगरपालिकाको मुख्य गेटमै ताला लागेको एक महिना भइसक्दा समेत ताला खुलाउने तर्फ सम्बन्धित निकायले पहल नगर्दा सर्वसाधारणहरु मारमा परेका छन्।
विगत एक महिनादेखि गरुडा नगरपालिकाका सर्वसाधारणले गरुडा नगरपालिकाको कार्यालयबाट दैनिक रुपमा पाउने सेवा पाउन सकेका छैनन् ।
गरुडा नगरपालिकाकी उपमेयर र केही वडा अध्यक्षहरूले नगरपालिकाको मुख्य गेटमा एक महिना पहिला अर्थात् पुसको १८ गते तालाबन्दी गरेका थिए । उनीहरूले विभिन्न माग राखेर नगरपालिकाको गरुगरुडा,१९ माघ । कार्यालयमा तालाबन्दी गरेपछि सो नगरपालिकाबाट नगरवासीले पाउनुपर्ने सेवा सुविधा पाउन सकेका छैनन् ।
गरुडा नगरपालिकाका नगरप्रमुख कण्ठमणिप्रसाद जयसवालले उपमेयर लगायतका केही वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा भागबण्डा खोजेका कारण समस्या सिर्जना भएको बताए । गरुडा नगरपालिकामा लागेको तालाबन्दी खुलाउनका लागि पटकपटक जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षबीच सहमतिको प्रयास भएपनि अहिलेसम्म सहमति हुन नसक्दा नगरपालिकामा लागेको ताला नखुलेको हो । उपमेयर सहितका वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा भागबण्डा खोज्दै तालाबन्दी गरेका कारण नगरवासीहरूले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपरेको नगर प्रमुख कण्ठमणि प्रसाद जयसवालको भनाइ रहेको छ । आफूले नगरपालिकाको कार्यपालिका बैठकमा बसेर उनीहरूका मागहरुलाई सम्बोधन गर्ने बताएको भए पनि सो कुरालाई वास्ता नगरी उपमेयर सहितका केही जनप्रतिनिधिले नगरपालिकाको मुख्य गेटमा ताला लगाएर बसेका कारण नगरवासी सेवा सुविधाबाट बन्चित भएको नगर प्रमुख जयसवालको भनाइ रहेको छ ।
ताला खुलाउने विषयमा अब पनि सहमति नभए आफूले प्रहरी प्रशासन लगाएर भएपनि ताला खोलेर नगरपालिकाबाट सर्वसाधारणले पाउनुपर्ने सेवा सुविधा दिनका लागि आफू तयार भएको नगर प्रमुख जयस्वालको भनाइ रहेको छ । उपमेयर सहित केही वडा अध्यक्षहरूले भने बजेटमा नगरप्रमुख जयस्वालले एकलौटी गरेको र अहिलेसम्म भएका हिसाबकिताब पारदर्शी हुनुपर्ने बताउँदै नगरपालिकाको कार्यालयमा एक महिना पहिला तालाबन्दी गरेका थिए । २०८० माघ १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।