गरुडा,२४ माघ ।
रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीले उखु तौलमा अनियमितता गर्ने गरेको पाइएको छ ।
१सय क्विन्टल उखु सो मिल्समा तौल गर्दा ७० क्विन्टल देखा परेपछि किसानहरूले मङ्गलबार मिलमा नाराबाजी गरेका थिए । मङ्गलबार दिनभर जसो उखु उत्पादक किसान र मिल सञ्चालक बीच वादविवाद भएको थियो ।
बाबा बैजनाथ सुगर एण्ड केमिकल्स प्रालीले किसानहरूको उखु तौलमा हिनामिना गरेको भन्दै किसानहरूले मिल सञ्चालकका विरुद्ध नाराबाजी गरेका थिए ।
किसानहरूले मिल सञ्चालक विरुद्ध गरेको नाराबाजीको समाचार सङ्कलन गर्न गएका एकजना पत्रकारलाई मिल सञ्चालकले निर्घात रुपमा कुटपिट गरेका छन् । मिल्स सञ्चालक र किसानहरूबीच भएको वादविवादको भिडियो खिच्दै गरेका रौतहटका पत्रकार कृष्ण तिवारीलाई मिल्छ सञ्चालक र उनीहरूका आफन्तले मिल्स भित्रै निर्वात रुपमा कुटपिट गरेका थिए । पत्रकार तिवारीको मोबाइल र क्यामरा समेत उनीहरुले लुटेको तिवारीले बताएका छन् । पत्रकार तिवारीको रौतहटको गरुडास्थित एक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको नेपाल पत्रकार महासघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताएका छन् ।
नेपाल पत्रकार महासघ रौतहट शाखाले विज्ञप्ति निकाल्दै पत्रकार तिवारीलाई कुटपिट गर्ने मिल सञ्चालकलाई तत्काल कारबाही गर्न माग गरिएको छ । पत्रकार तिवारीलाई लात्ती, उखु र ढुङ्गा प्रहार गरी मिल सञ्चालकका आफन्तले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
सो मिल्सले विगत केही दिनदेखि किसानले लगेको उखु जोख्ने क्रममा तौल हिनामिना गर्ने गरेको रौतहट उखु उत्पादक किसान संघका अध्यक्ष अशोक यादवको भनाइ रहेको छ ।
उखु किसानले खेतबाट लगेको उखुको तौल हिनामिना गरेको विषयमा आफूहरुले मिल सञ्चालकसँग कुरा गर्दा मिल्स एरियामै आफूहरुलाई धाक धम्की दिने काम भएको अध्यक्ष यादवले बताए ।
सो मिलले विगतका वर्षदेखि नै किसानको उखु तौलमा दायाँबायाँ गर्ने गरेको अर्का स्थानीय किसान हरिकृष्ण साहले बताए । उखु तौलमा कम देखाउने काम गरेपछि उखु तौलाउन गएका किसान र मिल सञ्चालक बीच विवाद भएको थियो । तौल हिनामिना गरेको विषयमा किसानले गरेको नाराबाजीको समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट र लुटपाट भएपछि मिल्स एरियामा ठूलो सख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
पत्रकार कुटिएको र किसानको उखु तौल गर्दा हिनामिना गरेको विषयमा कुरा गर्नका लागि मिल्सका सञ्चालक बैजुबाबरासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । बैजुबाबा केमिकल्स एण्ड सुगर मिलले रौतहटमा चिनी उत्पादनका साथै मदिरा समेत उत्पादन गर्दै आएको छ । तौल गर्ने क्रम नसच्याए आफूहरूले मिल्स विरुद्ध सशक्त आन्दोलन गर्ने उखु उत्पादक संघ रौतहटका अध्यक्ष यादवले जानकारी दिएका छन् । किसानहरूले गरेको नाराबाजीको समाचार सङ्कलन गर्न पुगेका पत्रकारलाई मिल सञ्चालकले कुटेको विषय गम्भीर भएको र मिल्स सञ्चालकलाई तत्काल कारबाही गर्न अध्यक्ष यादवले माग गरेकाछन् । २०८० माघ २४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।