रौतहट,५ फागुन । पछिल्लो समय रौतहटको चन्द्रपुर क्षेत्रमा रहेका ई रिक्साहरू यात्रु बोक्नुभन्दा दाउरा बोक्नमै व्यस्त रहेका छन्।
आधा दिनमा सङ्कलन गरेको एक ई रिक्सा दाउराको ५ हजार सम्म पैसा पाउने भएपछि ई रिक्सा सञ्चालकहरु पछिल्लो समय दाउरा बोक्नतिर आकर्षित भएका हुन् ।
रौतहटको राष्ट्रिय वन तथा सामुदायिक वनमा प्रवेश गर्ने यस्ता ई रिक्सा सञ्चालकहरूले काँचा सालका लात्राहरु काटेर दाउराको रुपमा बिक्री वितरण गर्दै आएका छन् ।
वन कर्मचारीकै मिलोमतोमा रौतहटको वनबाट काँचा सालका लात्रा काटिँदा समेत सम्बन्धित निकायले ध्यान दिन नसकेको स्थानीय बासिन्दाहरुले बताएका छन्।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा रहेको जनचाहना सामुदायिक वन क्षेत्रमा बिहान ८ बज्ने बित्तिकै दर्जनौं ई रिक्साहरु सालका काचा लाथ्रा काट्नका लागि प्रवेश गर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीय बासिन्दा तथा ई रिक्सा सञ्चालक केदर तिमल्सिनाका अनुसार पछिल्लो समय रौतहटको राष्ट्रिय वन तथा सामुदायिक वनमा काँचा सालका लाथ्रा काटेर वनमा हानी नोक्सानी पुर्याउँदै आएका छन् ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार झाले वन कर्मचारीको मिलोमतोमा ई रिक्साहरूले काचा सालका लाथ्रा काटेको पाइए उनीहरूमाथि कारर्वाही हुने बताएका छन्।
स्थानीय बासिन्दाहरूले भने व्यापक रुपमा ई रिक्साले वनमा हानि नोक्सानी पुर्याएको जानकारी दिएका छन्।
रौतहटको वनमा पछिल्लो समय व्यापक रूपमा हानि नोक्सानी हुँदै आएको भए पनि डिभिजन वन कार्यालयले त्यसतर्फ ध्यान दिन नसकेको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् ।








