चन्द्रपुर,८ फागुन । बन्दै गरेको चन्द्रनिगाहपुर गौर सडक खण्डको धुलोका कारण स्थानीय बासिन्दालाई समस्या भएको गुनासो आएको छ ।
बन्दै गरेको चन्द्रनिगापुर गौर सडक खण्डमा सडक निर्माण गर्ने ठेकेदार कम्पनीले नियमित रुपमा पानी नहालेका कारण हुने धुलोले व्यापारीहरुलाई बस्नै नहुने भएको गुनासो आएको हो । सो सडक निर्माणको ठेक्का पाएको आश्रय निर्माण सेवाको चरम लापरवाहीका कारण चन्द्रनिगापुर गौर सडक खण्डको दाया बायाका पसले तथा घरहरू धुलोका कारण समस्यामा परेका हुन् ।
आश्रय निर्माणको चरम लापरवाहीका कारण सडकको दुवै किनारामा बसोबास गर्ने घरधनी तथा पसलेहरू मारमा परेको चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष वासुदेव अधिकारीको भनाइ रहेको छ ।
सो विषयमा सडक डिभिजन कार्यालय चन्द्रनिगापुरका कर्मचारीले समेत ठेकेदार कम्पनीलाई निर्देशन दिन नसक्दा आफूहरु दिनभरि बस्न बाध्य भएको व्यापारीहरुले बताएका छन् । आश्रय निर्माण सेवाको चरम लापरवाहीका कारण सर्वसाधारणलाई बाटो हिँड्न नै समस्या भएको चन्द्रनिगापुरमा रहेको भान्जा फ्यान्सी स्टोर्सका सञ्चालक अभि घिमिरेले जानकारी दिए ।
हावा हुरीको समय आइसकेको र ठेकेदार कम्पनीले बेलाबेलामा सडकमा पानी नछिटेका कारण व्यापारी तथा सर्वसाधारण मारमा परेको घिमिरेको गुनासो छ ।
आश्रय निर्माण सेवाको यस्तो कामको चर्को विरोध भइरहेको भएपनि सम्बन्धित निकायले त्यसतर्फ कुनै चासो नदिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । २०८० पफागुन ८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








