चन्द्रपुर,९ फागुन ।वनमा काचा सालका रुख काटने समुह फरार भएपछि वन कर्मचारी काँचा सालका गोलिया र एक थान राँगो लिएर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर आएकाछन् ।कुरा सोमबार रातीको हो । रौतहटको बलेरी वन क्षेत्रबाट अवैध रूपमा कटान गरेर सर्लाहीतर्फ लान लागेको काँचो सालको काठ बरामद भएको छ । वृन्दावन सब डिभिजन वन कार्यालयका कर्मचारीहरुले सो काठ बरामद गरेर डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा पठाएका हुन् ।बलेरीको वनभित्र सर्लाहीका काठ तस्करहरूले रातिको समयमा काठ काटेर टायर गाडामा लोड गरी लान लागेको अवस्थामा वन वनगस्ती टोलीले बरामद गरेको हो ।वृन्दावन सब वन डिभिजन कार्यालयका वन अधिकृत अनिल कुमार महतोको कमाण्डमा खटिएको गस्ती टोलिले गस्तीमा गएको सो काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।वन गस्ती टोलीले एक थान टायर गाडा, करिब ५८ क्युफिट काँचो सालको गोलिया, र एउटा राँगा बरामद गरेर डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा बुझाएको हो ।बरामद गरिएको समाग्री आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय, रौतहटमा ल्याइएको र संलग्न तस्करहरुको खोजी कार्य जारी रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएका छन् ।रौतहटको बलरी वन क्षेत्रमा पछिल्लो समय सर्लाहीका काठ तस्करको आँखा परेको र उनीहरूले रातिको समयमा सो वन क्षेत्रबाट काँचो सालको गोलिया काटेर लाने गरेको स्थानीय बासिन्दाहरुले बताउँदै आएका छन् ।वन कर्मचारीहरूले नियमित रूपमा वनगस्ती नगरेका कारण रौतहटको राष्ट्रिय वनमा दिनप्रतिदिन हानि नोक्सानी हुँदै आएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् ।








