रौतहट,१८ फागुन । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को आयोजनामा आजबाट सुरु भएको नगरी स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका वडा नम्बर १ विजयी भएको छ। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइबेकरमा चन्द्रपुर चारलाई चन्द्रपुरी १ ले तीनका विरुद्ध पाँच गोल गर्दै विजयी बन्न सफल भएको हो। सो प्रतियोगिताको उद्घाटन गर्दै चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले आफूले खेलकुदमा सक्दो सहयोग गर्ने बताएका थिए। नगर प्रमुख काफ्लेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रवि राणा मगरले गरेका थिए। चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको नगरस्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा नगरका १० वटै वडाका खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार र दोस्रो हुने टिमले नगद २० हजार पाउने वडाध्यक्ष रवि राणा मगरले जानकारी दिएका छन् ।








