चन्द्रपुर,२३ फागुन ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर मातहतमा रहेको प्रहरी चौकी सन्तपुरका असई दिनानाथ यादवको ज्यादतीका कारण स्थानीय बासिन्दा मारमा परेका छन् ।
प्रहरी चौकी सन्तपुरका असई यादवले स्थानीय हाट बजारमा आउने व्यापारीदेखि लोकल मदिरा बेच्ने स्थानीय होटलहरूमा गएर पैसा मागेर हैरान पार्ने गरेको गुनासो तीव्र रुपमा बढेको छ ।
पैसा नदिएको झोकमा असई यादवले निजी जग्गामा लगाएको सपेता बिक्री गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ गर्न लगाएर स्थानीयलाई दुःख दिने काम गरेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तीपुरमा निजी जग्गामा लगाइएको सपेता काटेर बिक्री गर्नका लागि लाने क्रममा असई यादवले ४० हजार रुपैयाँ घुस मागेको र सम्बन्धित ठेकेदारले नदिएपछि निजी जमिनमा लगाएको सपेतालाई विभिन्न बहाना बनाई डिभिजन वन कार्यालयमा बुझाएका हुन् । वडा अध्यक्षको रोहोबरमा काटिएको निजी जमिनको सपेता ५० हजार मूल्याङ्कन गरी यादवले डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा बुझाउन लगाएको स्थानीय बासिन्दाले बताएका छन् । असई यादव प्रहरी चौकी सन्तपुरमा आएदेखि उनले साना व्यापारीहरूलाई दुःख दिने गरेको गुनासो वडा कार्यालयमा आउन थालेको चन्द्रपुर आठका वडा अध्यक्ष जितेन्द्र चौधरीले बताए ।
रोचक कुरा त के छ भने डिभिजन वन कार्यालय आफैंले चोरी तस्करीबाट बरामद गरेर गरेको काठ बिक्री नभएर कुहिएको अवस्थामा रहेको छ ।
तर प्रहरीले बरामद गर्ने काठको मूल्याङ्कन गरेर डिभिजन वन कार्यालयमा बुझाउने गरेको छ । रु यति हजारको काठ बरामद गरी डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको भनी जिल्ला प्रहरी कार्यालयले सञ्चारकर्मीहरूलाई इमेल गर्ने गरेको छ ।
प्रहरीले भन्सार छली गरेर ल्याएको तस्करीको सामान जस्तै गरी काठको समेत मूल्याङ्कन गरेर वन कार्यालयमा बुझाउनुको मुख्य कारण भने कमिसन रहेको बुझिएको छ ।
प्रहरीले कमिसन आउने लोभमा काठको आफै मूल्याङ्कन गरी पत्रसहित डिभिजन वन कार्यालयमा पठाउने गरेको एक कर्मचारीले जानकारी दिएका छन् ।
निजी जमिनमा लगाएको सपेता प्रहरी चौकी सन्तपुरका यादवले बरामद गरी डिभिजन वन कार्यालय रौतहटमा बुझाएपछि यतिबेला ट्रेक्टर धनी र काठ धनी दुवै बिचल्लीमा परेका छन् । सो काठ बिक्रीका लागि चन्द्रपुर नगरपालिका वडा नम्बर ८ ले वडा कार्यालयको लेटर प्याडमै बिक्रीका लागि लान अनुमति दिएको देखिन्छ । तर असै यादवले आफूले मागेअनुसारको ४० हजार रुपैयाँ नपाएको झोकमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई खबर गरी बरामद गर्न लगाएका थिए ।
असई यादवकोले गरेका अवैध गतिविधिको विषयमा जानकारी गराउनका लागि स्थानीय बासिन्दा जिल्ला प्रहरी कार्यालय रौतहट गौर जाने तयारीमा रहेको वडा अध्यक्ष चौधरीको भनाइ रहेको छ । असई यादवको यस्ता हर्कतको विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटका एसपीसँग आफूहरुले कुरा गर्न लागेको वडा अध्यक्ष चौधरीले बताए । असइ यादव सँग सो बिषयमा कुरा गर्न उनको मोबाइल नम्बर ९८४३५८६०४५ मा पटक पटक फोन गर्दा फोन उठेन । २०८० फागुन २३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।