रौतहट,२३ फागुन । रौतहटको एक सामुदायिक वनले मिलेमतोमा काठ बिक्री गर्न लागेको कुराको विरोध गरेपछि एकजनालाई वन कार्यालयले पक्राउ गरेको छ। महादेव स्थान सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर २ को काठ लिलामीमा वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा गोप्य रुपमा टेन्डर हुन लागेपछि विरोधमा उत्रेका स्थानीय विक्रम लामालाई वन मुद्दामा डिभिजन वन कार्यालय चन्द्रनिगापुर रौतहटले पक्राउ गरेको हो । वन कर्मचारी र महादेवी स्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव पुलामीको मिलो मतोमा सामुदायिक वनले सङ्कलन गरेर राखेको काठ गोप्य रुपमा सूचना निकाली बिक्री वितरण गर्न लागेको कुराको लामाले विरोध गरेका थिए । सामुदायिक वनले सङ्कलन गरेर राखेको काठ गोप्य रूपमा वन कर्मचारीको मिलेमतोमा बिक्री गर्न लागेको थाहा पाएपछि लामाले त्यसको विरोध गरेका थिए । आफूहरूको काममा भाजो हाल्न लागेपछि सामुदायिक वनका अध्यक्ष पुलामीले केही दिन पहिला चन्द्रपुर २ को राष्ट्रिय वन क्षेत्रमा काटिएको काचा खयरमा लामाको नाम मुछेर किटानी जाहेरी दिएपछि डिभिजन वन कार्यालयले लामालाई पक्राउ गरेको हो । डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले सामुदायिक वनका अध्यक्ष पुलामीले दिएको निवेदनको आधारमा लामालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन् । सब डिभिजन वन कार्यालय जुडिबेलाका प्रमुख सुरेश महत्व र सो सामुदायिक वनका अध्यक्ष पुलामीले गोप्य रुपमा सामुदायिक वनको काठ बिक्रीका लागि सूचना आह्वान गरेका थिए । स्थानीय बासिन्दा लामाले त्यसकै विरोध गरेकै आधारमा सामुदायिक वनका अध्यक्षले काँचो खयर कटानमा लामाको संलग्नता रहेको भन्दै उजुरी दिएकै आधारमा पक्राउ गर्नु नाजायज काम भएको नेकपा एमाले र उतहटका जिल्ला सचिव बाबुराम दाहालले बताए ।