बिजयपुर,२३ चैत । जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अमवेया खातुनले नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतले नै आफूलाई फसाउने काम गर्न लागेको गम्भीर आरोप लगाएकी छिन् ।
सो नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र प्रधानले नेपाली कांग्रेस निकट वडा अध्यक्षहरूसँग मिलेर आफूलाई असक्षम बनाउने अभियानमा लागेको आरोप लगाएकी हुन् ।
सो नगरपालिकाका निर्वाचित मेयर गोपाल राय यादव नदी उत्खनन मुद्दामा भ्रष्टाचारी ठहर भएपछि उपमेयर अम्वेया खातुन कार्यवाहक मेयर बनेकी हुन् । खातुनले निमित्त मेयरको कार्यभार सम्हालेदेखि नै नेपाली कांग्रेस निकटका वडा अध्यक्षहरुले सो नगरपालिकामा विभिन्न अवरोध खडा गर्दै आएको खातुनको गुनासो रहेको छ । खातुन पनि नेपाली कांग्रेसबाटै उपमेयरमा निर्वाचित भएकी हुन् । सो नगरपालिकामा जनप्रतिनिधिहरू बीचको विवादका कारण ९ महिनादेखि तलब नपाएको भन्दै कमर्चारीहरू पटक÷पटक आन्दोलन गर्दै आएका छन ।
नगरप्रमुख गोपाल राय यादव र उपप्रमुख खातुनबीच लामो समयसम्म विवाद देखिएको थियो । यहीबीच नगरप्रमुख यादवले राजस्व हिनामिना गरेको आरोपमा विशेष अदालतले कैद र जरिवानाको आदेश गरेको छ । उनी अहिले निलम्बनमा परेका छन ।








