चन्द्रपुर,२४चैत ।
रौतहटको बलरी वन क्षेत्रमा पछिल्लो समय आएर व्यापक रूपमा काँचा सालको काठको चोरी तस्करी भइरहेको छ ।
वृन्दावन सब वन डिभिजन कार्यालयमा कार्यरत वन कर्मचारीहरूकै संलग्नतामा सर्लाहीका तस्करहरूले बलेरी वनमा काठ तस्करी गर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । सो कार्यालयमा कार्यरत कर्मचारीहरू नियमित रूपमा कार्यालयमा नबस्ने र वनगस्ती नगर्ने गरेका कारण सो क्षेत्रको वन दिन प्रतिदिन विनाश हुँदै गएको स्थानीयको भनाइ छ । सर्लाहीबाट आउने काठ तस्करहरूले वन कर्मचारीहरूलाई सेटिङ मिलाएका कारण वन कर्मचारीहरू उनीहरू काठ चोरी तस्करी गर्न आउने बेलामा गस्तीमा नजाने गरेको एक स्थानीय बासिन्दाले तर एक्सप्रेसलाई जानकारी दिएका छन् ।
वृन्दावन सब डिभिजन वन कार्यालयमा कार्यरत कर्मचारीहरूले सर्लाहीका तस्कर र रौतहटकै तस्करबाट मोटो रकम पाउने गरेका कारण उनीहरुले डिभिजन वन कार्यालय प्रमुखलाई पैसा बुझाएरै भएपनि त्यहाँ जाने गरेको पाइन्छ । केही वन कर्मचारीहरू सबडिभिजन कार्यालयमा बस्ने गरेको भएपनि उनीहरूले नियमित राति तथा दिउँसोको समयमा गस्ती नगरेका कारण बलेरीको वन दिन प्रतिदिन सकिँदै जान थालेको एक स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने सर्तमा तर एक्सप्रेसलाई जानकारी दिएका छन् ।
सर्लाहीबाट समूह नै बनाएर आउने काठ तस्करहरूले दिउँसोको समयमा रौतहटको घना वनमा छिरेर काँचा सालका रुख काट्ने र रातिको समयमा ट्याक्टर तथा टायर गाडामा हालेर काठ सर्लाहीतिर लाने गरेका छन् । केही समय पहिला वन कर्मचारीकै सेटिङमा काठ तस्करहरूले जंगलमा काटेको काँचो सालको गोलिया तोकेअनुसार पैसा नदिई रातिको समयमा लान थालेपछि वन कर्मचारीले बरामद गरेको थियो । वन कर्मचारीले तस्करसँग मिलेर पहिला रुख काट्न दिने र पछि मोलमोलाई नमिलेपछि बरामद गर्ने क्रम विगत लामो समयदेखि चल्दै आएको छ ।
रौतहटको वनमा कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसम्म स्थानीय कर्मचारी रहेका कारण यहाँको वनमा व्यापक रुपमा चोरी तस्करी हुने गरेको जानकारहरूको बुझाइ रहेको छ । यहाँ आउने वन कर्मचारीको उद्देश्य नै पैसा कमाउनु रहेको वन कर्मचारीहरूकै भनाइ रहेको छ ।
वृन्दावन सब डिभिजन वन कार्यालयका प्रमुख अनिल कुमार महतोकै मिले महत्वमा सो क्षेत्रको बागमतीको बगर धमाधम फडानी गरेर स्थानीय बासिन्दाले खेतीयोग्य जमिन बनाएर बिक्री वितरण गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । २०८० चैत २४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








