चन्द्रपुर,२७ चैत ।
डिभिजन वन कार्यालय रौतहट मातहतका वन कर्मचारीहरूले नियमित गस्ती नगरेका कारण वनमा व्यापक रूपमा हानि नोक्सानी भइरहेको छ ।
डिभिजन वन कार्यालय रौतहट मातहतका विभिन्न सब फन्ड डिभिजन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले गस्ती नगरेका कारण वनमा व्यापक रूपमा चोरी तस्करी मौलाउँदै जान थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
पछिल्लो समय जिल्लाको वृन्दावन क्षेत्रको वनमा व्यापक रुपमा चोरी तस्करी बढेको स्थानीयको भनाइ छ ।
बलेरी वनमा वन कर्मचारीले नियमित रूपमा गस्ती नगरेका कारण सर्लाहीबाट आउने काठ तस्करहरुले दैनिक रुपमा बहुमूल्य जातका हरिया सालका रुखहरु काटेर लाने गरेको स्थानीयको दाबी छ ।
वृन्दावन सब डिभिजन वन कार्यालयमा कार्यरत कर्मचारीहरू कार्यालयमा नबसेका कारण सो क्षेत्रको वनमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । सो वन क्षेत्रका कर्मचारीहरू दिउँसो कार्यालयमा गएर सुतेर बस्ने र राति आआफ्नो घरमा जाने गरेका कारण सर्लाहीबाट आउने तस्करलाई काठ चोरेर लान सहज भएको स्थानीयको भनाइ छ । बलेरीको राष्ट्रिय वनमा सर्लाहीका मात्र नभएर रौतहटका काठ तस्करले समेत काँचा बहुमूल्य जातका सालका रुख काटेर लाने गरेको गाउँलेहरूले बताएका छन् । वृन्दावन सबडिभिजन वन कार्यालयमा कार्यरत कर्मचारीहरूको मिलोमतोमै सो क्षेत्रको वनमा व्यापक रुपमा हानि नोक्सानी भइरहेको स्थानीयको भनाइ रहेको छ ।
सो क्षेत्रको वन हेर्ने जिम्मा पाएका सहायक वन अधिकृत अनिल कुमार महत्व समेत नियमित रुपमा कार्यालयमै नजाने र गस्ती समेत नगर्ने गरेका कारण अन्य कर्मचारीले समेत लत्तो छाडेको स्थानीयको भनाइ छ ।
सो स्थानमा कार्यरत रहेका वन कर्मचारीहरूको मिलो महत्वमा बागमतीको हराबरा बगर नै अतिक्रमण गरेर खेतीयोग्य जमिन बनाउँदा समेत वन कर्मचारीहरु कानमा तेल हालेर बसेको वृन्दावन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सिकेन्द्र पटेलको भनाइ रहेको छ । सो स्थानमा बागमतीको हराबरा बगरलाई उजाड बनाएर खेतीयोग्य जमिन बनाउन कर्मचारीकै संलग्नता रहेको भन्दै स्थानीय बासिन्दाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा वन विभागमा उजुरी समेत गरेका छन् । सो स्थानमा विगत लामो समयदेखि काठ तस्करहरूले वन कर्मचारीकै मिलेमत्वमा बहुमूल्य जातका हरिया सालका काठहरु दिउँसो काटेर राति साइकलमा लगि बिक्री वितरण गर्दै आएका छन् ।
एउटा सिङ्गो रुख नै अट्ने गरी मोडिफाई गरिएको साइकलमा काठ तस्करहरुले बहुमूल्य जातका सालका रुखहरु काटेर लाने गरेको पाइन्छ । सो विषयमा कुरा गर्न सो क्षेत्रका सहायक वन अधिकृत महतोसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।