चन्द्रपुर,२३ बैशाख ।
रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा पर्ने वृन्दावन सबडिभिजन वन कार्यालय अन्तर्गतको जङ्गलबाट व्यापक रूपमा काठ चोरी तस्करी बढ्दै गएको छ ।
सो जङ्गलमा तस्कर समूह सक्रिय भएर काठ चोरी तस्करी गर्न लागेको स्थानीय बासिन्दाको भनाइ रहेको हो ।
राति हुने काठ तस्करीको स्थानीयले समाजिक सञ्जाल फेसबुकमा फोटो राखेर वृन्दावन अन्तर्गतका जङ्गलबाट खुलेआम चोरी तस्करी हुने गरेको जानकारी गराएका छन् । तस्बिरमा तस्कर समूहले साइकलमा काठको गुलिया लोड गरेर लाँदै गरेको देखिन्छ ।
करिब तीनवटा फरक तस्बिरमा तस्कर समूहले रातिको समयमा साइकलमा लोड गरेको काठ गाउँतिर भित्र्याउने गरेको देखिन्छ ।
वृन्दावन–१ घर भएका स्थानीय पुरुषोत्तम राउत र राउत विवेकले समाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै तस्करी नियन्त्रण गर्न आग्रह गरेका छन् ।
वृन्दावन सबडिभिजन वन कार्यालय अन्तर्गतको वनमा लामो समयदेखि हुँदै आएको तस्करी नियन्त्रण हुन नसक्नु वन कर्मचारी गैरजिम्मेवारी भएको भन्दै स्थानीयले विरोधसमेत गर्न थालेका छन् ।
वन कर्मचारीकै सेटिङमा हुने तस्करी नियन्त्रण गर्न यतिबेला वनका ठुल्ल्क अधिकारीहरूलाई नै धौ–धौ भएको छ । सो वन कार्यालयमा कार्यरत कर्मचारीहरू लामो समयदेखि तस्कर समूहलाई लाइन दिँदै र चोरी तस्करी गराउँदै आएको स्थानीय बासिन्दा बताउँछन् । तस्करी सम्बन्धी वन कर्मचारीलाई जानकारी गराउँदा उनीहरूको गैर जिम्मेवारी जवाफ आउने गरेको छ । उनीहरूले धेरै ठूलो नाका भएकोले तस्करी नियन्त्रण हुन नसक्ने बताउँदै आएको स्थानीयको गुनासो रहेको छ ।
यता रात पर्ने बित्तिकै वन कर्मचारीले क्वाटरमा छिरेपछि भोलि एकैचोटि ७ बजे उठ्ने गरेको स्थानीयको भनाइ रहेको छ ।
वन कर्मचारीकै सेटिङमा रौतहटको मात्रै नभई सर्लाहीका तस्करहरू समेत सक्रिय भएर बलेरीको जङ्गलबाट काठ चोरेर सर्लाही लाने गरेको स्थानीयले बताएका छ्न ।
पछिल्लो समय वृन्दावन सबडिभिजन वन कार्यालय अन्तर्गतको जंगलबाट हुने चोरी तस्करी नियन्त्रण गर्न वन कर्मचारीलाई चुनौती नै बनेको छ ।
सो वन कार्यालयमा कार्यरत कर्मचारीहरूको एकसाथ सरुवा नगरेसम्म तस्करी नियन्त्रण हुन नसक्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
उनीहरू लामो समयदेखि सोही वन कार्यालयमा कार्यरत भएपछि तस्करसँग निकै बक्कुलो साठघाट भएको स्थानीय बताउँछन् ।
यता गत वैशाख १ गते पिकनिक मनाउने नाउँमा ल्याइएको तीन थान काठ वनले बरामद गरेपनि सो काठ अहिलेसम्म उठाउन सकेको छैन । सो काठ छोड्नका लागि केही वन कर्मचारी तस्कर समुहबाट रकम लिएर पेट चलाउले गरेको समाचार स्रोतको भनाइ रहेको छ ।








