बृन्दावन,२५ बैशाख ।
केही दिनदेखि बढेको गर्मीका कारण मध्य तराईमा विभिन्न रोगको संक्रमणका बिरामी बढेको छ ।
गर्मी बढेसँगै रौतहटको निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको हो ।
अत्याधिक गर्मीका कारण झाडापखाला, ज्वरो, बन्दता हुने, रिङ्गटा लाग्ने, घाँटी दुख्ने, आँखा पोल्ने, सर्पदंश लगायतका बिरामीको चाप बढेको चन्द्रनिगापुर सरकारी अस्पतालका प्रमुख डाक्टर अभिनन्दन कुमार श्रीवास्तवले जानकारी दिएका छन् । डाक्टर श्रीवास्तवका अनुसार अस्पतालमा दैनिक २५० देखि ३०० जनासम्मका विभिन्न रोगका बिरामी आउने गरेको छ ।
जसमध्ये ४० देखि ५० जना झाडापखालाका बिरामी आउने गरेको हो ।
झाडापखालाका बिरामीलाई अवस्था हेरेर भर्ना गर्नुपर्नेलाई भर्ना गरी अन्यलाई ओपिडीमा चेकजाँच गर्ने गरेको डाक्टर श्रीवास्तवले बताए ।
गर्मी बढेसँगै जिल्लास्थित सबैजसो सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत बिरामीको चाप बढेको चिकित्सक बताउँछन् ।
सबैजसो अस्पतालमा भाइरल ज्वरो तथा टाइफाइड, झाडापखाला, वाकवाकी,रुघाखोकी, लो प्रेसर लगायतका बिरामी उपचारका लागि आउने गरेका गरेका छन् ।
त्यस्तै, जिल्लाका निजी अस्पतालमा पनि वाकवाकी, ज्वरो, झाडापखाला, रुघाखोकी र रक्तचापका बिरामी उपचारका लागि भर्ना भएका छन् । शहरी क्षेत्रमा रहेको अधिकांश निजी अस्पतालमा बिरामीको चाप बढेको छ ।
यता अस्पतालमा बिरामीको चाप बढिरहेका बेला रौतहटको वृन्दावन नगरपालिका अन्तरगतका कुनै पनि स्वास्थ्य संस्थामा प्रयाप्त औषधि नरहेको चिकित्सकहरु स्वयम बताउन थालेका छन् ।
सो पालिकामा लामो समयदेखि औषधिको अभाव हुदैँ आए पनि पालिकाले औषधि खरिद गर्ने तर्फ ध्यान नदिएको वृन्दावन(२ का स्थानिय विगु राउतको भनाइ रहेको छ ।
जिल्लामा विभिन्न रोगको संक्रमणका बिरामी बढे पनि रौतहटकोे वृन्दावनका कुनै पनि स्वास्थ्य संस्थामा सरकारले निःशुल्क उपलब्ध गराउने औषधि पाउन छोडेपछि सर्वसाधारणले निजि अस्पतालमा अर्को शुल्क तिरेर उपचार गराउ बाध्य भएको राउतले बताए ।
औषधि अभावको विषयमा ती पालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलसँग बुझ्न सम्पर्क गर्दा उनको मोबाइल स्वीच आफ रहेको थियो ।
बिगत लामो समयदेखी बृन्दावनका सरकारी स्वास्थ्य संस्थामा औषधि नभएका कारण सो नगरपालिकाका सर्बसाधारण उपचारकालागि चन्द्रपुरका सरकारी संस्थामा आँउन बाध्य भएकाछन् ।








