रौतहट,१६ साउन ।चन्द्रपुर नगरपालिकास्थित चाँदी पुल नजिकैको ड्याममा एक समूहले घर टहरा बनाएर बस्ती बस्दा समेत चन्द्रपुर नगरपालिकाको ध्यान जान सकेको छैन ।
पूर्व पश्चिम महेन्द्र राजमार्गको चाँदी पुलको होम पाइप छेउको ड्याममा बाहिर जिल्लाबाट आएको समूहले घर टहरा बनाएर बस्ती बसेको हो ।
नगरपालिका भित्र बाहिरी जिल्लाबाट आएर सार्वजनिक जमिनमा घर टहरा बनाएर बस्दा समेत चन्द्रपुर नगरपालिकाको ध्यान जान नसकेको चन्द्रनिगापुरका स्थानीय बासिन्दा बिमल भट्टराईको भनाइ रहेको छ ।
सो बस्तीले पछिल्लो समय गएर ठूलो समस्या उत्पन्न गराउन सक्ने भन्दै स्थानीय बासिन्दाले सो स्थानबाट घर तर खाली गराउनका लागि नगरपालिकासँग माग गरेका छन् ।
चाँदी खोलामा तटबन्दका लागि निर्माण गरिएको ड्याममा दर्जनौं बाहिर जिल्लाबाट आएको समूहले घर टहरा बनाएर बसोबास सुरु गरेका छन् ।
उनीहरूलाई सो स्थानमा कसले ल्याएर राखेको हो भन्ने विषयमा नगरपालिकाले तदारुक्ताका साथ चासो लिएर सो बस्ती तत्काल खाली गराउनुपर्ने अर्का स्थानीय बासिन्दा विनोद घिमिरेको भनाइ रहेको छ । चाँदी खोलाको ड्याममा केही समय पहिला बाहिर जिल्लाबाट आएर घर टहरा बनाई बसेकाहरुले अहिले चाँदी पुलको मुखमा विभिन्न पसल थापेका कारण सो स्थानमा दुर्घटनाको खतरा समेत बढ्दै जान थालेको छ । चाँदी खोलाको मुख सानो रहेको र मुखैमा सो बस्तीका बासिन्दाले विभिन्न किसिमका पसल राखेका कारण सो स्थानमा सवारी दुर्घटनाको खतरा बढ्दै जान थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा पर्ने सो स्थानमा बाहिरी जिल्लाबाट आएर घर टहरा बनाई बसोबास गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको र त्यस विषयमा आफूले बुझ्ने चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निलहरी कोइरालाको भनाइ रहेको छ ।
उता सुकुम्बासीको नाममा बागमती सिँचाइको नहर छेउमा घर टहरा बनाई बसेकाहरूका कारण नहरको छेउमा रहेका घरधनीलाई आफ्नै जमिनमा खेतीपाती गर्नका लागि समस्या भइरहेको छ । बागमती सिँचाइ आयोजनाले नहरको दायाँबायाँ रहेको बस्ती खाली गराउनका लागि पटकपटक सूचना जारी गरेको भएपनि राजनैतिक दलका स्थानीय नेताहरुका कारण सो बस्ती खाली नहुन नसक्दा स्थानीय बासिन्दालाई समस्या भएको छ ।
चन्द्रपुर नगरपालिका बाहिरका बासिन्दाहरू आएर नहर कब्जा गरेका कारण नहर छेउमा रहेका जग्गाधनीले समस्या खेपिरहेका बेला पछिल्लो समय आएर दर्जनौंको संख्यामा चाँदीको ड्याममा घर टहरा बनाई बस्ती निर्माण गरिएको हो । सो बस्ती केही वर्षपछि स्थानीय बासिन्दाको टाउको दुखाइ हुने र उनीहरूले सुकुम्बासीका नाममा अरुको जग्गा समेत कब्जा गर्न सक्ने सम्भावना बढ्दै गएको भन्दै स्थानीयले बस्ती तत्काल खाली गराउन जोडदार माग गरेका छन् ।
बारा जिल्लाको विभिन्न स्थानबाट आएका उनीहरूले चाँदी खोलाको ड्याममा सानासाना घर टहरा बनाएर मान्छे हिँड्ने बाटो नै कब्जा गरेर बसेका कारण अहिले नै समस्या उत्पन्न भएको र यो विषयमा चन्द्रपुर नगरपालिकाले तत्काल ध्यान दिनुपर्ने स्थानीय बासिन्दा बन्ती कुमार पाण्डेको भनाइ रहेको छ ।








