रौतहट,२९ साउन । चन्द्रनिगाहपुर गौर सडक खण्डको मान्छे हिँड्ने सडकको दुवैतिरको पेटी व्यापारीहरुले कब्जा गरेका छन् ।
सडक पेटी व्यापारीहरूले कब्जा गरेपछि पैदल यात्री भने बीच सडकबाटै हिँड्न बाध्य भएका छन् ।
चन्द्रनिगाहपुर गौर सडक खण्ड चार लेनको बनेपछि सडकको दुवैतिर मान्छे हिँड्नका लागि पेटी बनाइएको छ । तर दुवैतिरको सडक पेटी स्थानीय व्यापारी तथा टाटा सुमोका काउन्टरहरूले कब्जा गरेका कारण पैदल यात्री भने बीच सडकबाटै हिँड्न बाध्य भएका छन् ।
यसतर्फ चन्द्रपुर नगरपालिकाले चासो नदिएका कारण सडक पेटीबाट हिँड्नुपर्ने पैदल यात्रुले बीच सडकबाटै हिँड्नुपर्ने बाध्यता आएको स्थानीय बासिन्दाले बताएका छन् ।
विगत लामो समयदेखि सडक पेटी नै कब्जा गरेर पानीपुरी चटपटे तथा फलफुलको व्यापार गर्दै आएका व्यापारीहरुले अहिले चार लेनको सडक बनेपछि पनि मान्छे हिँड्नका लागि बनाइएको सडक पेटी कब्जा गरेका हुन् । यस्तो विषयमा चन्द्रपुर नगरपालिकाले खासै चासो नदिएका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको चन्द्रनिगाहपुरका पत्रकार अनमोल कार्कीको भनाइ रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरले समेत सडक पेटीमै टिकट काउन्टर राखेका काउन्टर सञ्चालकहरूलाई सडक पेटीबाट काउन्टर हटाउन पहल नगरेको गुनासो बढ्दै जान थालेको छ ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले चन्द्रपुर नगरपालिकाको काम भएका कारण आफूहरूले सो स्थानमा हस्तक्षेप गर्न नमिल्ने बताउँदै आएको छ । व्यापारी र टिकट काउन्टरले सडक पेटी नै कब्जा गरेको विषयमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्लेले आफूलाई सो विषयमा जानकारी नभएको तराई एक्सप्रेसलाई बताएका छन् । मान्छे हिँड्ने सडक पेटी टाटा समूहका टिकट काउन्टर र व्यापारीले कब्जा गरेका कारण सर्वसाधारणहरु ज्यान जोखिममै पारेर बीच सडकबाट हिँड्न बाध्य भएको चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष वासुदेव अधिकारीको भनाइ रहेको छ ।
कोठाभाडा लिएर सञ्चालन गर्नुपर्ने टाटा सुमोका काउन्टरहरू सडक पेटीमै रहेका कारण सर्वसाधारणलाई सडक पेटीबाट हिँड्न समस्या भएको छ । चन्द्रनिगाहपुर गौर सडक खण्ड चार लेनको भएपछि सवारी साधनहरू तीव्र गतिमा गुड्ने र पैदल यात्री पनि सडकबाटै हिँड्ने भएका कारण दुर्घटनाको जोखिम बढेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । स्थानीयले व्यापारी र टाटा समूहको काउन्टरको कब्जाबाट सडकपेटी तत्काल हटाउनुपर्ने माग राख्दै आएको भएपनि सम्बन्धित निकाय चन्द्रपुर नगरपालिकाले त्यसतर्फ ध्यान दिन सकेको छैन । २०८१ साउन २८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








